जसपासँगको गठबन्धनमा कांग्रेसलाई घाटा 

चुनावको मुखमा कांग्रेसका बुथ सभापति जसपा छिरे

वीरगन्ज/२२ वैशाख– वीरगन्ज महानगरपालिकाको मेयर पद जनता समाजवादी पार्टी (जसपा) को भागमा दिएको कांग्रेसलाई एक पछि अर्को झट्का लाग्दै आएको छ । महानगरमा पार्टीको उपस्थिती बलियो हुँदा हुँदै पनि पार्टी सभापति एवं शेरबहादुर देउवाले गठबन्धनको सरकार टिकाई राख्न वीरगन्जको मेयर जसपलाई दिएका थिए । पर्सा कांग्रेसले उपमेयरमा चित्त बुझाएको थियो । यता गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेसका नेताहरु घरदैलोमा जसपाका उम्मेदवारसँगै हिडेका छन् । उता जसपाका नेताहरुले कांग्रेसका असन्तुष्टलाई पार्टी प्रवेश गराउन तर्फ अग्रसर देखिएका छन् ।

बिहीबार कांग्रेसका दर्जनौ नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरि जसपा प्रवेश गरेका छन् ।  जसपाले वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्षुमनवामा आयोजना गरेको पार्टी प्रवेश एवम् कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका बुथ उपसभापतिसहित रामवचन पटेलसहित दर्जनौं नेता तथा कार्यकर्ताले जसपा प्रवेश गरेका हुन् ।नव प्रवेशीहरुलाई मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, संघीय सांसद् प्रदीप यादव, जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंह, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, महानगर अध्यक्ष इश्वर यादव, वडा अध्यक्ष पदका उम्मेदवार रमेश यादवलगायतले फुलमाला र गम्छा लगाएर पार्टी प्रवेश गराएका थिए ।  पार्टी प्रवेश कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री लालाबू राउतले जसपा नेतृत्वमा मधेश प्रदेशले विकासमा फड्को मारेक र जसपाकै नेतृत्वमा वीरगञ्जले पनि विकास गर्ने विश्वास व्यक्त गर्दै पार्टीबाट उठेका सम्पूर्ण उम्मेदवरहरुलाई छाता छापमा मतदान गरेर विजयी बनाउन आग्रह गरे । जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंहले आफू निर्वाचित भएर मेयर बनेपछि महानगरमा हुने भ्रष्टचारलाई जरैदेखि अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्