संरक्षणको अभावमा जीर्ण बन्दै बिपी उद्यान

वीरगंज — वीरगंजको घण्टाघरअगाडि निर्माणाधीन बिपी उद्यान उचित संरक्षण र नियमित सम्भारको अभावमा निर्माण सम्पन्न नहुँदै जीर्ण बन्दै गएको छ। लाखौं रुपैयाँ खर्च गरी हरियाली पार्कका रूपमा विकास गर्न थालिएको उद्यानमा नियमित हेरचाह नहुँदा पुनः अतिक्रमण र अव्यवस्थाको जोखिम बढेको स्थानीयवासीले गुनासो गरेका छन्।

वीरगंज महानगरपालिकाले शहरको सौन्दर्य वृद्धि र वातावरणीय सुधार गर्ने उद्देश्यले उद्यानलाई व्यवस्थित हरियाली पार्कका रूपमा विकास गर्ने योजना अघि बढाएको थियो। उद्यानमा माटो भर्ने, जमीन सम्याउने, दुबो रोप्ने तथा विभिन्न फूल र बिरुवा लगाउने काम गरिएको थियो। तर नियमित पानी, सरसफाइ, सुरक्षा र निगरानीको व्यवस्था हुन नसक्दा बिरुवा तथा उद्यानको अवस्था बिग्रँदै गएको छ।

स्थानीयवासीका अनुसार रातिको समयमा उद्यान क्षेत्रमा विभिन्न समूहको जमघट तथा असामाजिक गतिविधि हुन थालेको छ। सुरक्षा र निगरानीको अभावमा उद्यान पुनः अतिक्रमणको चपेटामा पर्ने जोखिम रहेको उनीहरूको भनाइ छ।

नगरप्रमुख राजेशमान सिंह निलम्बनमा परेपछि उनको पहलमा अघि बढाइएको बिपी उद्यान विकास योजना अलपत्र पर्ने हो कि भन्ने आशङ्का पनि नगरवासीमा बढेको छ। महानगरपालिकाले उद्यानलाई पैदल मार्ग, विश्रामस्थल, फूलबारी र व्यवस्थित हरियाली क्षेत्रसहित आधुनिक पार्कका रूपमा विकास गर्ने योजना बनाएको थियो।

यसैगरी, उद्यानको उत्तरतर्फ रहेको पुरानो रेलवे लाइन क्षेत्रमा रेलवे सङ्ग्रहालय निर्माण गरी जनकपुरबाट पुरानो रेल इन्जिन ल्याएर राख्ने योजना पनि अघि सारिएको थियो। तर उक्त योजना पनि अन्योलमा परेको स्थानीयवासीको गुनासो छ।

बिपी उद्यानको निर्माण पूरा गरी नियमित संरक्षण, सुरक्षा र व्यवस्थापन गर्न सके वीरगंजको शहरी सौन्दर्य वृद्धि, वातावरण संरक्षण तथा आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले महानगरपालिकासँग उद्यानको तत्काल संरक्षण र व्यवस्थापनमा ध्यान दिन माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्