अन्तरविभागीय रंगोली प्रतियोगितामा नर्सिङ कलेज प्रथम

वीरगञ्ज । तिहार २०८३ को अवसरमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा इभेन्ट कमिटीको आयोजनामा अन्तरविभागीय रंगोली प्रतियोगिता सम्पन्न भएको छ। कर्मचारीहरूबीच आपसी सद्भाव, एकता, सांस्कृतिक आदानप्रदान तथा सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा नर्सिङ कलेज टोलीले प्रथम स्थान हासिल गरेको छ।

प्रतियोगितामा प्रशासन, आईबीएमएस, नर्सिङ कलेज, नर्सिङ स्टाफ र डेन्टल गरी पाँच टोलीको सहभागिता रहेको थियो। सहभागी टोलीहरूले तिहारको सांस्कृतिक महत्त्व, परम्परा र मौलिकतालाई रंगोलीमार्फत सिर्जनात्मक रूपमा प्रस्तुत गरेका थिए।

प्रतियोगिताको नतिजाअनुसार नर्सिङ कलेज टोली प्रथम, आईबीएमएस टोली द्वितीय र नर्सिङ स्टाफ टोली तृतीय भएका छन्। त्यस्तै, प्रशासन टोलीले चौथो र डेन्टल टोलीले पाँचौँ स्थान हासिल गरेका छन्।

कार्यक्रममा कलेजका अध्यक्ष प्रा. डा. जैनुद्दिन अन्सारी, अस्पताल निर्देशक डा. इशरत जहान तथा प्राचार्य प्रा. डा. के.एन. सिंहको विशेष उपस्थिति रहेको थियो।

प्रतियोगिताको मूल्याङ्कन उपप्राचार्य डा. रविशंकर गुप्ता, प्रा. डा. बबिता सिंह, प्रा. डा. सरोज देउ, प्रा. गंगा गुरुङ तथा प्रमुख वित्त अधिकृत मुकुन्द भुसाल सम्मिलित पाँच सदस्यीय निर्णायक मण्डलले गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका अध्यक्ष प्रा. डा. जैनुद्दिन अन्सारीले रंगोली नेपाली तथा दक्षिण एसियाली चाडपर्वको सांस्कृतिक पहिचान, सिर्जनशीलता र सौन्दर्यको महत्वपूर्ण अभिव्यक्ति भएको बताउनुभयो। उहाँले रंगोली प्रतियोगिता केवल कलात्मक प्रतिस्पर्धा मात्र नभई संस्थामा कार्यरत विभिन्न विभागका कर्मचारीलाई एउटै साझा मञ्चमा जोड्ने, आपसी सद्भाव अभिवृद्धि गर्ने र सामूहिक सहभागिताको भावना विकास गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो।

यस्ता सांस्कृतिक कार्यक्रमले कर्मचारीहरूबीच आत्मीयता, सहकार्य, सकारात्मक सम्बन्ध तथा संस्थाप्रतिको अपनत्व बढाउन सहयोग पुर्‍याउने भएकाले आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो। साथै उहाँले सहभागी सबै टोलीको सिर्जनशीलता, मेहनत र उत्साहको प्रशंसा गर्दै विजयी तथा सहभागी सम्पूर्ण टोलीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टोलीलाई क्रमशः नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। चौथो र पाँचौँ स्थान हासिल गर्ने टोलीलाई सान्त्वना पुरस्कारस्वरूप नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। सबै पुरस्कार तथा प्रमाणपत्र कलेजका अध्यक्ष प्रा. डा. जैनुद्दिन अन्सारीले वितरण गर्नुभएको थियो।

कार्यक्रमको नेतृत्व इभेन्ट कमिटीका अध्यक्ष तथा प्रमुख सूचना अधिकृत (CIO) इन्जिनियर प्रदीप कुमार चौधरीले गर्नुभएको थियो। कमिटीको सदस्य–सचिवमा ऋचा सिंह तथा सदस्यहरूमा जितेश चन्द्र दास, विश्वनाथ कण्ठ, केशव भण्डारी, ब्रजकिशोर चौधरी र सन्तोष पोखरेल रहनुभएको थियो।

आयोजकका अनुसार प्रतियोगिताले कर्मचारीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै संस्थाभित्र सांस्कृतिक एकता, आपसी सम्मान र सहकार्यको भावना थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस्