खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन, औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन अघि बढाएको छ । पार्टीले छानबिन निष्कर्षमा नपुग्दासम्म उनलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ । 

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्यसामग्री तथा सुनारसँग सम्बन्धित प्रश्नहरूको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको उल्लेख छ ।

सार्वजनिक भएका सामग्रीमा महिलाको मर्यादामा आँच पुर्‍याउने व्यवहार, अनुचित दबाब, धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी विषय उठाइएको छ । रास्वपाले यी विषयलाई गम्भीर र संवेदनशील भन्दै त्यस्ता गतिविधिमा शून्य सहनशीलताको नीति रहेको जनाएको छ । 

यसअघि सार्वजनिक भएको भनिएको अडिओलाई लिएर सुनार विवादमा परेका थिए । यसैबीच, सुनारले आफूविरुद्धका आर्थिक अनियमिततासम्बन्धी आरोपको निष्पक्ष छानबिन गर्न चुनौती दिँदै आफ्नो सम्पत्ति र आर्थिक स्रोतको समेत अनुसन्धान गर्न आफू तयार रहेको बताएका थिए । उनले आफूमाथि नियोजित रूपमा बदनाम गर्न खोजिएको आरोप पनि लगाएका थिए । 

रास्वपाले राज्यका सम्बन्धित निकायबाट हुने स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत काम गर्ने कसैलाई पनि राजनीतिक संरक्षण नदिने उल्लेख गर्दै पार्टीले छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानअनुसार थप कदम चाल्ने जनाएको छ ।

839822051_1864913138033631_5629396936325874102_n

प्रतिक्रिया दिनुहोस्