अनियमितताको आरोपविरुद्ध मौन सत्याग्रह

रक्सौल । महात्मा गाँधी जयन्तीको अवसरमा नगरपरिषद् रक्सौलको कौडियाटोला कार्यालयअगाडि विभिन्न अनियमितताको आरोपबारे प्रशासनको मौनताको विरोधमा मौन सत्याग्रह गरिएको छ ।

समाजसेवी रवि मस्कराले नगरपरिषद् कार्यालयअगाडि मौन बसेर विरोध जनाएका हुन् । उनीद्वारा जारी प्रेस विज्ञप्तिमा नगरपरिषद्मा पटकपटक विभिन्न योजनामा अनियमितता तथा घोटालाको आरोप लाग्दै आएको उल्लेख गरिएको छ ।

मस्कराका अनुसार नल–जल योजना, सडकबत्ती, मेशीन तथा डस्टबीन खरीद, कर्मचारीको तलब, सडक, नाला, डिभाइडर र शौचालय निर्माणलगायतका विषयमा प्रश्न उठ्दै आएका छन् । पछिल्लो समय राष्ट्रिय झन्डासम्बन्धी विषयमा समेत अनियमितताको आरोप सार्वजनिक भएको उनको दाबी छ ।

विभिन्न विषयमा आफूले निरन्तर प्रशासनिक निकायको ध्यानाकर्षण गराउँदै आएको मस्कराले बताए । उनका अनुसार नगरपरिषद्का कार्यपालक पदाधिकारी, रक्सौलका अञ्चल अधिकारी, अनुमण्डल पदाधिकारी तथा जिल्ला प्रहरी प्रमुख र जिलाधिकारीसमक्ष समेत नगरपरिषद्मा भइरहेको भनिएको अनियमितताबारे जानकारी गराइएको थियो ।

तर सम्बन्धित निकायबाट अपेक्षित प्रतिक्रिया नआएको भन्दै उनले महात्मा गाँधीको सत्याग्रहको सिद्धान्त अनुसार मौन बसेर विरोध गरेको बताए ।

मस्कराले आफ्नो मौन सत्याग्रहपछि सम्बन्धित अधिकारीहरूले उठाइएका विषयमा ध्यान दिई आवश्यक छानबीन तथा वास्तविकता सार्वजनिक गर्ने अपेक्षा व्यक्त गरेका छन् । उनले नगरपरिषद्सँग सम्बन्धित विभिन्न योजनामा उठेका प्रश्नको निष्पक्ष छानबीन हुनुपर्ने मागसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्