जालिम मियाँको अर्को भ्रष्टचारको खुलासा, कागजमा माटो पुरि सडक स्तरोन्नती देखाएर साढे ४७ लाख भ्रष्टचार

छात्राले प्रयोग गर्ने स्नेटरी प्याड समेत कागजमै खरिद देखाएर जालिमले आफू निकटका आपूर्तिकर्तालाई भुक्तानी दिलाएका छन् ।   

जगरनाथपुर – नेपाल कम्युनिष्ट पार्टी एमालेबाट पर्साको निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार जालिम मियाँ यस अघि २०७४ मा जगरनाथपुर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । संसदको टिकट ‘फिक्स’ भएपछि गत पुसमा जालिम एमाले प्रवेश गरेका थिए ।

गाउँपालिका अध्यक्ष हुँदा उनी माओवादी थिए । जगरनाथपुर गाउँपालिकाको अध्यक्ष हुँदा जालिमले कागजमा माटो पुरि सडक स्तरोन्नती देखाएर ४७ लाख ४८ हजार रुपैयाँ भ्रष्टचार गरेको पाइएको छ । 

 

आर्थिक वर्ष २०७७/७८ मा जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ स्थित हुलाकी सडकको मन्साराम चोक देखि मोर गाउँ जाने सडकमा माटो पुरेर सडक स्तरोन्नतीका लागि ४७ लाख ४८ हजार रुपैयाँ विनियोजन गरिएको थियो । स्थानीयका अनुसार मोर हुलाकी सडकबाट मोर जाने कच्ची सडकमा एक छैटी माटो खसालिएको छैन् ।

सञ्चारकर्मीको टोली मोर सडकमा पुग्दा दुई दर्जन भन्दा बढी सर्वसाधारण सँग भेटेको थियो । एकजनाले पनि मोर सडकमा माटो खसाएको बताएनन् । उक्त बाटोमा पैदल हिड्न समेत समस्या रहेको स्थानीय ओमप्रकाश चौधरीले बताए ।

गाउँपालिका स्रोतका अनुसार जालिमले कागजमा माटो पुरेको देखाएर मात्र नभई ढलान नै नगरि समेत पैसा भुक्तानी गराएका छन् । स्रोतका अनुसार छात्राले प्रयोग गर्ने स्नेटरी प्याड समेत कागजमै खरिद देखाएर जालिमले आफू निकटका आपूर्तिकर्तालाई भुक्तानी दिलाएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्