हावाहुरीले पोल ढाल्दा राति १ बजेदेखि वीरगन्जमा विद्युत अवरुद्ध

हावाहुरीले बिजुलीका २५ वटा पोल ढालेकाले विद्युत आपूर्ति हुन अझ केही समय लाग्ने विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रको कार्यालयले जनाएको छ ।

वीरगन्ज– बुधबार राति करिब एक बजेदेखि वीरगन्ज र आसपासका क्षेत्रमा विद्युत आपूर्ति ठप्प बनेको छ । हावाहुरीले बिजुलीका २५ वटा पोल ढालेकाले विद्युत आपूर्ति हुन अझ केही समय लाग्ने विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रको कार्यालयले जनाएको छ । राति वर्षासगै आएको हावाहुरीले वीरगन्जको विभिन्न ठाउमा प्राधिकरणको पोल भाचिएका छन् । केही ठाउका ट्रान्सफर्मर समेत खसेका छन् ।
प्राधिकरणका वीरगन्ज प्रमुख अवधेशकुमार दुबेका अनुसार रातिको हावाहुरीले वीरगन्ज महानगरका विभिन्न ठाउमा करिब २५ वटा विद्युतको पोल भाचिएर ढलेका छन् । लालपर्सा र रतनपुरमा ट्रान्सफर्मर पोलबाट खसेर क्षति भएको छ । वीरगन्ज महानगरपालिका –३० लालपर्सामा मात्र १० वटा पोल भाचिएर ढलेको दुबेले जनाए ।
वीरगन्जको पावरहाउस चोकमा समेत ५ वटा पोल लडेको उनले जनाए । ‘विहानैदेखि ठाउ ठाउमा ढलेको पोल, तार र ट्रान्सफर्मर मर्मतको काम भइरहेको छ,’ उनले भने, ‘अवरुद्ध विद्युतको आपूर्ति सम्भवत बेलुकादेखि सुचारु हुने सम्भावना रहेको छ ।’ अन्य ठाउबाट पनि पोल र तारमा क्षति पुगेको खबर आएका छन् । गर्मीको समयमा विद्युत आपूर्ति ठप्प हुदा महानगरवासी मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्