गहवामाई रथयात्रालाई भव्य बनाउन उपसमितिहरु गठन

सम्वादाता | २०८२ जेठ ७ गते १२: ११ मा प्रकाशित

वीरगञ्ज । विश्व प्रसिद्ध धार्मिक स्थल श्री गहवामाई मन्दिर क्षेत्रको पूर्वाधार विकास तथा यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित पर्यटकीय स्थलको रूपमा प्रचार–प्रसार गर्ने उद्देश्यसहित यस वर्षको श्री गहवामाई रथयात्रा भव्य रूपमा मनाइने भएको छ ।
    यस वर्षको रथयात्रा आषाढ शुक्ल द्वितीया को दिन, अर्थात् आषाढ १३ गते, विशेष झाँकी, बाजागाजा, सांस्कृतिक प्रस्तुति र शोभायात्रासहित सम्पन्न गरिने भएको छ । साथै, आषाढ १४ गते ‘छप्पन भोग’ तथा विशाल महाप्रसाद भण्डाराको आयोजना गरिने गहवामाई तीर्थ क्षेत्र विकास समितिले जानकारी दिएको छ ।
    रथयात्रालाई व्यवस्थित र भव्य बनाउनका लागि मिति २०८२ साल जेठ २० गते, शनिबार बसेको बैठकले विभिन्न उपसमिति गठन गरेको छ । समितिका अध्यक्ष श्याम कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकमा संयोजकहरूको नाम पनि तोकिएको छ ।
    गठित उपसमिति तथा संयोजकहरू रथयात्रा संयोजकः देवानन्द प्रसाद कलवार,झाँकी तथा सांस्कृतिक कार्यक्रम संयोजकः लक्ष्मी नारायण गुप्ता (पप्पु गुप्ता),आर्थिक संकलन संयोजकः रविशंकर अग्रवाल,भण्डारा संयोजकः अनुप कुमार अग्रवाल,छप्पन भोग संयोजकः शम्भु प्रसाद कलवार,प्रचार प्रसार संयोजकः श्याम प्रसाद गुप्ता,स्वयंसेवक परिचालन संयोजकः दिपेन्द्र प्रसाद गुप्ता (दिपु),धार्मिक समन्वय संयोजकः डा. पुरुषोत्तम दुबे (ज्योतिष सम्राट) रहेका छन् ।
    कार्यसमितिले यस वर्षको रथयात्रामा विविध सामाजिक, धार्मिक, सांस्कृतिक तथा सेवामूलक क्षेत्रमा योगदान पु¥याउने विशिष्ट व्यक्तिहरूलाई विशेष सम्मान समेत गर्ने निर्णय गरेको छ ।
    गहवामाई रथयात्रा मधेश प्रदेशमा आयोजना हुने एक मात्र ऐतिहासिक र विशिष्ट धार्मिक यात्रा हो, जसले सनातन आस्थालाई मजबुत गर्दै धार्मिक पर्यटन प्रवद्र्धनमा समेत उल्लेखनीय योगदान दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्