बिरगंजमा “गर्भपतन सम्बन्धी मूल्य मान्यता र व्यवहार रूपान्तरण” विषयक तालिम सुरु

सम्वादाता | २०८२ जेठ ७ गते ०३: ३५ मा प्रकाशित

वीरगञ्ज । गर्भपतनसम्बन्धी सामाजिक मूल्यमान्यता, व्यवहार परिवर्तन र सुरक्षित स्वास्थ्य सेवाका सवालमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ काठमाडौंको युवा संस्थाको आयोजनामा चारदिने विशेष तालिम सुरु भएको छ । तालिमको उद्घाटन आज एक विशेष समारोहबीच बिरगंज महानगरपालिका–१० का वडाध्यक्ष सुशील साह कानुको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
    कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वडाध्यक्ष कानुले दिप प्रज्वलन गरेर गर्नुभयो । कार्यक्रममा युवा संचारकर्मी आशु सर्राफको विशेष उपस्थिति रहेको थियो ।
    उक्त तालिम वीरगञ्ज महानगरपालिका अन्तर्गतका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि लक्षित गरिएको हो । स्वास्थ्य क्षेत्रमा कार्यरत फ्रन्टलाइन सेवा प्रदायकहरूलाई गर्भपतन सम्बन्धी सही जानकारी, कानुनी अवस्था, सामाजिक पूर्वाधार, र व्यवहारिक चुनौतीहरूबारे स्पष्टता प्रदान गर्नु तालिमको मुख्य उद्देश्य रहेको आयोजक संस्थाले जनाएको छ ।
    वडाध्यक्ष सुशील साह कानुले भने, “गर्भपतनजस्ता संवेदनशील विषयमा अझ धेरै जनचेतना आवश्यक छ । सही जानकारी र व्यवहार परिवर्तनले मात्र महिलाको स्वास्थ्य र अधिकारको सुनिश्चितता सम्भव हुन्छ । यस्तो किसिमको तालिमले समाजमा सकारात्मक परिवर्तन ल्याउने निश्चित छ ।”
    संचारकर्मी आशु सर्राफले स्वास्थ्य र लैङ्गिक समानताको मुद्दामा सञ्चारमाध्यमको भूमिकालाई जोड दिँदै, यस्ता तालिमहरू न केवल सहभागीहरूको ज्ञान अभिवृद्धि गर्ने, तर समाजमै दीर्घकालीन असर पार्ने बताउनुभयो।
    तालिममा सहभागिहरूले सुरक्षित गर्भपतन, कानुनी अधिकार, सामाजिक कलंक, र व्यवहार परिवर्तनका दृष्टिकोणबाट विस्तृत छलफल र अभ्यास गरिनेछ । प्रशिक्षकहरूद्वारा सहभागिहरूलाई अन्तरक्रियात्मक शैलीमा विषयवस्तु बुझाइनेछ ।
    तालिमले सहभागीहरूमा व्यवहारिक दक्षता, संवेदनशीलता र सहानुभूतिपूर्ण सेवा प्रवाहमा नयाँ दृष्टिकोण विकास गराउने अपेक्षा गरिएको छ । आयोजक युवा संस्थाले यस्ता कार्यक्रमलाई नियमित रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्