रक्सौलमा अनिरूद्धाचार्य महाराजको सत्सङ्गमा श्रद्धालुको ठूलो भीड

मानव सेवा नै सबैभन्दा ठूलो धर्मको सन्देश

सम्वादाता | २०८२ जेठ १० गते ०४: ३७ मा प्रकाशित

रक्सौल: भारतको प्रसिद्ध धर्मगुरु, कथा वाचक तथा वृन्दावनस्थित गौरी गोपाल आश्रमका संस्थापक श्री अनिरूद्धाचार्य जी महाराजको एक दिवसीय भक्ती सत्सङ्ग तथा प्रवचन कार्यक्रम भारत विकास परिषद् रक्सौल शाखाको ब्यानरमा संस्कार प्रकल्प अन्तर्गत सम्पन्न भयो। कार्यक्रम रक्सौलको लक्ष्मीपुरस्थित वाई.एस. रिसोर्टमा आयोजना गरिएको थियो, जहाँ हजारौं श्रद्धालुहरूको उपस्थितिले सत्सङ्ग स्थल खचाखच भरिएको थियो।

श्री अनिरूद्धाचार्य महाराजको नगर प्रवेशको बेला पुष्पवर्षा तथा भव्य आरती गरेर स्वागत गरिएको थियो। प्रवचनको क्रममा महाराजले मानव सेवा, मातापिताको सेवा र राष्ट्र सेवालाई सबैभन्दा ठूलो धर्मको रूपमा व्याख्या गरे। उनले छुवाछुत तथा सामाजिक कुरीति विरुद्ध जनचेतना फैलाउने सन्देश पनि दिए। साथै, देशको एकता, अखण्डता र सार्वभौमिकताको रक्षा गर्न सबैलाई सजग रहन आग्रह गरे।

महाराजले वृन्दावनस्थित आफ्नो गौरी गोपाल आश्रमको जानकारी दिँदै बताए कि उक्त आश्रममा परिवारबाट तिरस्कृत ३०० वृद्ध आमाहरूको सेवा भइरहेको छ। त्यहाँ दैनिक ३०,००० जनालाई निःशुल्क भोजन वितरण गरिन्छ।

कार्यक्रमको क्रममा उनले आफ्ना मधुर भजनहरूमार्फत श्रद्धालुहरूलाई भावविभोर बनाए। कार्यक्रम स्थलमा सुरक्षा र भीड नियन्त्रणका लागि प्रहरी र भारत विकास परिषद् रक्सौलका सम्पूर्ण सदस्यहरू सक्रिय रुपमा लागेका थिए। कार्यक्रमको अन्त्यमा श्रद्धालुहरू माझ महाप्रसाद वितरण गरिएको थियो।

परिषद् सचिव डा. राजेन्द्र प्रसाद सिंह र मिडिया प्रभारी रजनीश प्रियदर्शीले श्री महाराजको आगमनले स्थानीय समुदायलाई धार्मिक तथा आध्यात्मिक लाभ पुगेको विश्वास व्यक्त गरे। कार्यक्रम सफल बनाउन परिषद्का अवधेश सिंह, सीताराम गोयल, डा. एस.के. सिंह, सुनील कुमार, अजय कुमार, बिमल सर्राफ, विजय कुमार लगायत महिला तथा बाल विकास संयोजिका श्रीमती बी.एस.दासको उल्लेखनीय योगदान रहेको मिडिया प्रभारी रजनीश प्रियदर्शीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्