पर्सागढीमा वडा कार्यालय भवनको उद्घाटन

सम्वादाता | २०८२ जेठ १० गते ०५: ०३ मा प्रकाशित
नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन गर्दै खानेपानी मन्त्री प्रदिप यादव ।

वीरगञ्ज । पर्सा जिल्लाको पर्सागढी नगरपालिका–९ एकटांगा टोलमा वडाध्यक्ष रामबढई यादवले दान दिएको जग्गामा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ । 
    नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले बढ्दो गर्मी र भूमिगत जल स्रोत सुक्दै गएकाले तराईका अधिकांश चापाकल बन्द हुने अवस्था आएको बताएका छन् ।
    गर्मीका कारण तराई क्षेत्रमा भूमिगत जलको सतह दिनप्रतिदिन घट्दो क्रममा रहेकाले अब केन्द्र सरकारको पहलमा व्यवस्थित जल आपूर्तिको नयाँ ढाँचा कार्यान्वयन गरिने यादवले स्पष्ट पार्नुभयो ।
    मन्त्री यादवका अनुसार, अब चापाकलको विकल्प स्वरूप पर्सा जिल्लाभर रहेका ओभरहेड ट्यांकीहरू श्रावण महिनादेखि सञ्चालनमा ल्याइने छ । उहाँले जल स्रोतको दीर्घकालीन संरक्षण र व्यवस्थित वितरणका लागि यस्तो योजना आवश्यक भएको बताउनुभयो ।
    नवनिर्मित वडा कार्यालयको उद्घाटनमा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रममा मन्त्री यादवले स्थानीय तहको पूर्वाधार विकास र संरक्षणमा सरकार गम्भीर रहेको जनाउंदै जनताको जीवनस्तर सुधारमा सरकारका पहलहरू निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्