घुमौं मधेश, बुझौं मधेश” नाराका साथ पर्सामा पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न

सम्वादाता | २०८२ जेठ १० गते ०२: ५१ मा प्रकाशित

बिरगंज l नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशद्वारा आयोजित "घुमौं मधेश, बुझौं मधेश" मूल नाराका साथ पर्यटन प्रवर्द्धन केन्द्रित विशेष कार्यक्रम पर्साको होटल भिस्वामा भव्य रूपमा सम्पन्न भएको छ।

मधेश प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय र नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा मधेश प्रदेशका पर्यटन व्यवसायी, सरकारी निकायका प्रतिनिधि, सुरक्षाकर्मी, नागरिक समाजका अगुवा तथा विभिन्न सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता महासंघका मधेश प्रदेश अध्यक्ष हिरालाल गौतमले गर्नुभएको थियो भने मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री वसन्त कुशवाहा प्रमुख अतिथि रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा विकास राघव, जिल्ला प्रमुख गणेश अर्याल, जिल्ला प्रहरी प्रमुख गौतम मिश्रा तथा सशस्त्र प्रहरी बल पर्साका उपरीक्षक राधेश्याम धिमालको समेत उपस्थिति थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष ओम प्रकाश खनाल,श्याम बन्जारा,हरी गौतम, दीपक शाक्य, सुरेन्द्र श्रेष्ठ, महासंघका केन्द्रीय सचिव हरी पन्त, दानबहादुर श्रेष्ठ तथा पर्सा व्यवसायी सचिव तब्रेज आलम अतिथि रूपमा सहभागी भएका थिए।

कार्यक्रमको उद्घाटन सत्रपछि सहभागी टोली पर्साको ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण पर्यटकीय स्थल ठोरीतर्फ प्रस्थान गरेको थियो। ठोरी भ्रमणका क्रममा विभिन्न प्रवर्द्धनात्मक गतिविधिहरू, छलफल, अवलोकन र स्थानीयसंँग अन्तरक्रियाहरू आयोजना गरिएको थियो।

कार्यक्रमले मधेश प्रदेशमा रहेको विशाल पर्यटन सम्भावनाको पहिचान गर्न, आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने रणनीति तय गर्न र स्थानीय पर्यटन संरचना विकासतर्फ रणनीतिक सोच तयार गर्न मद्दत पुगेको आयोजकको भनाइ छ।

महासंघले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै मधेशको सांस्कृतिक, ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाको प्रवर्द्धनमा जोड दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्