गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने एमालेको निर्णय

सम्वादाता | २०८२ जेठ १२ गते ०४: ३७ मा प्रकाशित

वीरगञ्ज । नेकपा (एमाले) ले आगामी जेठ १५ गते मनाइने गणतन्त्र दिवसलाई विविध कार्यक्रमसहित उत्सवका रूपमा मनाउने निर्णय गरेको छ।

पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले उक्त निर्णय गरेको हो। बैठकमा अध्यक्ष ओलीले वर्तमान राजनीतिक अवस्था, पार्टीको विचार र संगठनको भूमिकाबारे विस्तृत जानकारी गराएका थिए। उनले पार्टीको सिद्धान्तमा आधारित भएर प्रतिक्रियावादी गतिविधिविरुद्ध एकताबद्ध रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए।

बैठकले स्थानीय जनताको बलिदानी संघर्षबाट प्राप्त गणतन्त्रको रक्षा, सम्वर्द्धन र सुदृढीकरणमा केन्द्रित कार्यक्रमहरू आयोजना गर्न सबै तहका पार्टी संगठनलाई निर्देशन दिएको छ। त्यसैगरी, पार्टीका जिल्ला, प्रदेश तथा पालिका कमिटीहरूले विविध सांस्कृतिक, भौतिक र राजनीतिक कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय लिएको छ।

पार्टीका उपशाखा तथा उपसमितिहरूलाई पनि कार्यक्रम आयोजना गर्न आग्रह गरिएको छ। साथै, केन्द्रीय कार्यालय र प्रदेशका कमिटीहरूले आवश्यकताअनुसार नेतृवको परिचालन गर्ने निर्णय गरिएको छ।

कार्यक्रमहरूको प्रभावकारी सञ्चालनका लागि आवश्यक समन्वय गर्न सबै तहका कमिटीहरूलाई निर्देशन दिइएको छ। कार्यक्रमहरूको रिपोर्ट पार्टी केन्द्रीय कार्यालयमा पठाउन समेत आग्रह गरिएको छ।

पार्टीका महासचिव शंकर पोख्रेलद्वारा जारी विज्ञप्तिमा पार्टी सदस्यहरूलाई गणतन्त्र दिवसको सफल आयोजनाका लागि सक्रिय सहभागिता जनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्