ट्राफिक सप्ताहको पाँचौं दिनमा वृहत वृक्षारोपण

सम्वादाता | २०८२ जेठ २७ गते ११: ५३ मा प्रकाशित

वीरगञ्ज । पर्सा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सञ्चालित ट्राफिक सप्ताह २०८२ अन्तर्गत सोमबार पाचौं दिन वीरगञ्ज महानगरपालिका–२४ स्थित परवानीपुर क्षेत्रमा वृहत वृक्षारोपण गरिएको छ ।
    कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टको नेतृत्वमा गरिएको थियो । ट्राफिक सप्ताहको माध्यमबाट सडक सुरक्षा सम्बन्धी जनचेतना फैलाउने मात्र नभई वातावरण संरक्षणमा समेत योगदान पु¥याउने उद्देश्य राखिएको भट्टले बताए । आगामी दिनहरूमा वीरगञ्जका विभिन्न क्षेत्रमा अझ प्रभावकारी ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिने समेत उनले जनाए ।
        करिब २०० जनाको सहभागितामा सम्पन्न कार्यक्रममा विभिन्न प्रजातिका १५० वटा बिरुवा रोपिएको आयोजकले जानकारी दिएका छन्। यस कार्यक्रमबाट हरियाली प्रवद्र्धन र वातावरण संरक्षणमा सकारात्मक सन्देश प्रवाह भएको विश्वास लिइएको छ। कार्यक्रममा परवानीपुर ट्राफिक प्रहरी बिटका इन्चार्ज इन्द्र मगर लगायतको पनि उपस्थिति रहेको थियो।
    कार्यक्रममा ट्राफिक प्रहरीका गुणनिधि खकुरेल, नेपाली कांग्रेसका नेता हबिब मिया, समाजसेवी विजय गुप्ता, बारा इँटा व्यवसायी संघका अध्यक्ष ओमप्रकाश यादव, युवा नेता ज्ञानेन्द्र मण्डललगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
    यस अभियानमा वीरगञ्जस्थित ब्राइट पब्लिक स्कूल र मुनलाईट स्कूलका विद्यार्थीहरूले सक्रिय सहभागिता जनाएका थिए । उनीहरूले व्यस्त चोकहरूमा पैदल यात्रुहरूलाई जेब्रा क्रसिङ प्रयोग गर्न, सहि दिशा र सडक पेटीबाट हिँड्न प्रेरित गरिरहेका थिए । साथै, विद्यार्थीहरूले ट्राफिक शिष्टाचारसम्बन्धी पर्चा तथा पम्पलेट वितरण गरी सर्वसाधारणलाई ट्राफिक नियम बारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्