ट्राफिक प्रहरीको अभद्र रवैयाले पर्यटक घट्ने

अरुलाई ज्ञान बांड्ने निकायमा अज्ञानीहरुको भरमार

सम्वादाता | २०८२ जेठ २७ गते १२: ३१ मा प्रकाशित
तस्वीर : साभार

वीरगञ्ज । सडकमा खट्ने ट्राफिक प्रहरीहरुको यात्रु प्रति अभद्र व्यवहारका समाचारहरु दिन प्रतिदिन उजागर भईरहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा र ट्राफिक कार्यालयले सडक सुरक्षा र वातावरण संरक्षणका लागि आम नागरिकलाई ज्ञान दिईरहेकै बेला एक घटनामा मकवानपुर भैंसे ट्राफिक प्रहरीको कर्तुतले छिमेकी राज्य भारतमा समेत ट्राफिकको छवीलाई नाकारात्मक रुपमा प्रस्तुत गरेको छ ।
    भारतबाट नेपाल घुम्न आएका एक भारतीय पर्यटकले नेपाली ट्राफिक प्रहरीले अनावश्यक दुःख दिएको आरोप लगाएका छन् । भारतको बिहार राज्यको मोतिहारी जिल्लाबाट बि.आर.२२ एपी ७३३४ नम्बरको निजी सवारी साधनमार्फत आइतबार २५ गते नेपाल आएका कृष्ण भारतीले ट्राफिक प्रहरीको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।
    उनका अनुसार, उनी आफ्ना साथीहरूसँग वीरगंज भन्सार हुँदै मकवानपुरको त्रीखण्डी हुँदै भैसे क्षेत्र घुम्न गएका थिए । सोही क्रममा भैसे चेकपोस्टमा ट्राफिक प्रहरी जवान अमृत बस्नेतले उनलाई रोकेर ‘पटके सवारी कर’ तिरेको छैन भन्ने बहानामा चिट काटेका थिए । भारतीले बताए अनुसार, उनीहरूले नेपाल प्रवेश गर्दा कानुनी रुपमा भन्सार शुल्क तिरेका थिए र गाडी पूर्णरूपमा कानुनी प्रक्रिया पुरा गरेर नेपाल प्रवेश गराइएको थियो ।
    “हामी भारतबाट हरेकपटक निजी गाडीमै नेपाल घुम्न आउँछौं । भन्सार तिरेपछि अन्य प्रक्रिया आवश्यक हुन्छ भन्ने थाहा थिएन,” उनले भने, “तर ट्राफिकले पटके करको बारेमा सोधेर हामीलाई जानकारी नदिई ‘लापरबाहीपूर्वक सवारी चलाएको’ भन्दै चिट काटिदिए । यस्तो व्यवहारले पर्यटकलाई दुःखी बनाउँछ ।”
    लापरबाहीपूर्वक सवारी चलाएको अभियोगमा प्रहरी जवान अमृत बस्नेतले सो गाडीलाई ‘१८ नं बुँदा कोड’ अन्तर्गत चिट काटेका थिए । विदेशी पर्यटकहरूमाथि यस्ता व्यवहारहरू बारम्बार हुने गरेको भन्दै उनले नेपाली सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गरे । “हामी नेपालप्रति सद्भाव राख्छौं र यहाँको सौन्दर्य हेर्न आउँछौं । तर यसरी अनावश्यक दुःख दिइएमा भावीमा पर्यटनमै असर पर्न सक्छ,” भारतीले भने ।
    नेपाल घुम्न आउने भारतीय पर्यटकहरूप्रति ट्राफिक तथा सुरक्षा निकायले व्यवहारमा सजगता अपनाउनुपर्ने आवाज उठ्दै आएको छ । यस्ता घटना दोहोरिन नदिन स्थानीय प्रशासन र ट्राफिक विभागले पारदर्शिता र जानकारीमूलक कार्यशैली अपनाउनु जरुरी देखिन्छ । सडक सुरक्षा लगायत अन्य विषयमा सर्वसाधारणलाई ज्ञान बांड्दै हिंड्ने यो नियकायमा अज्ञानीहरुको भरमारले सर्वसाधारण मर्कामा पर्ने गर्दछन् भने आफ्नो गोजी तातो पार्न बाहिर बाट आउने पर्यटकलाई अनावश्यक दुखः दिने कृत्यले “अतिथी देवो भवः” को मर्मलाई आघात पार्छ ।

प्रतिक्रिया दिनुहोस्