विद्युत चोरी विरुद्ध प्राधिकरणको कार्यवाही, उपकरण बरामद

सम्वादाता | २०८२ जेठ २८ गते ०२: ३९ मा प्रकाशित
बीरगञ्ज । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रले विद्युत चोरीमा संलग्न व्यक्तिहरूविरुद्ध कार्यवाही गरेको छ । हुकिङ तथा अन्य गैरकानुनी उपायमार्फत विद्युत प्रयोग गरिरहेको सूचना पाएपछि प्राधिकरणले प्रहरीको सहयोगमा छापा मारी चोरीमा प्रयोग भएका सामग्री बरामद गरेको हो ।
नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुबेको निर्देशनमा र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ वीरगंज इकाई समितिका प्रमुख सन्तोष कुमार झाको नेतृत्वमा गठन गरिएको टोलीले वीरगंज महानगरपालिका अन्तर्गत नेशनल मेडिकल कलेज क्षेत्रको नकटुवा आसपासका घरहरू र वडा नम्बर १६ स्थित नगवा क्षेत्रमा छापा मारेको हो । उक्त अपरेशन्समा जनपद प्रहरी र शस्त्र प्रहरी बलको सहयोग रहेको थियो । कारबाहीको क्रममा घर–घरमा लुकाई राखिएका तार, इलेक्ट्रोनिक उपकरण लगायतका सामग्रीहरू नेपाल विद्युत प्राधिकरण वीरगञ्जले आफ्नो नियन्त्रणमा लिएको छ । 
विद्युत चोरीको घटनाले राष्ट्रलाई वार्षिक रूपमा ठूलो आर्थिक घाटा पु¥याउने हुँदा यस्तो कार्यमा संलग्न जो–कोहीलाई अब कडा कानुनी कारबाही गरिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रमुख दुबेले अब यस्ता चोरी नियन्त्रणका लागि नियमित अनुगमन, प्रविधिमैत्री उपायहरूको प्रयोग र जनचेतना अभियानहरू समेत अघि बढाइने जानकारी दिएका छन् । प्राधिकरणले सर्वसाधारणलाई पनि चोरी जस्तो गैरकानुनी कार्य नगर्न र देखेमा नजिकको विद्युत कार्यालयमा जानकारी गराउन समेत अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्