सुनचाँदी व्यवसायीको दुईदिने बन्द, देशव्यापी आन्दोलन

सम्वादाता | २०८२ जेठ ३० गते ०१: ०९ मा प्रकाशित

बीरगञ्ज । सरकारको पछिल्लो नीतिगत निर्णयविरुद्ध सुनचाँदी व्यवसायीहरू देशभर आन्दोलित भएका छन् । व्यवसायीहरूले जेठ २९ र ३० गते दुई दिनका लागि सम्पूर्ण सुनचाँदी पसल बन्द गरी आन्दोलनमा उत्रिएका छन् ।
    सुनमा लगाइएको २% विलासिता कर र बहुमूल्य धातुमा लगाइएको १३% मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्नुपर्ने, सुनको भन्सार दर ६% मा कायम गर्नुपर्ने तथा सुनचाँदी कारोबारलाई व्यवस्थित गर्न स्पष्ट नीति तथा कार्यविधि निर्माण गर्नुपर्ने माग सहित व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन् ।
    वीरगन्जमा पनि पर्सा सुनचाँदी व्यवसायी संघ, पर्सा सुनचाँदी कालिगढ संघ तथा सुनचाँदी व्यवसायी महासंघको अगुवाइमा सम्पूर्ण पसलहरू बन्द गरिएको छ । मुख्य बजार क्षेत्र शान्त देखिए पनि व्यवसायीहरूको आक्रोश गहिरो छ ।
    पर्सा सुनचाँदी व्यवसायी संघका हरिओम सर्राफका अनुसार वर्तमान कर संरचना व्यवसायीहरूका लागि असहज र अव्यावहारिक बनेको छ । “सरकारको नीति यस्तो छ कि यसले व्यवसाय धराशायी बनाउने खतरा निम्त्याउँछ,“ उनले भने । उनका अनुसार, यो बन्द कार्यक्रम चेतावनीमूलक मात्र हो र मागहरू नसुने स्थिति आएमा अझ व्यापक आन्दोलनको घोषणा गरिनेछ ।
    व्यवसायीहरूले सुनचाँदी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण अंग भन्दै स्थायित्व, पारदर्शिता र स्पष्ट नीतिगत वातावरणको माग गरेका छन् । सरकारले गम्भीरताका साथ मागहरूमा ध्यान नदिए थप आर्थिक असन्तुलन सिर्जना हुने उनीहरूको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्