१३ लाखभन्दा बढीको अवैध टायरसहित ट्रयाक्टर नियन्त्रणमा

सम्वादाता | २०८२ जेठ ३० गते ०४: १३ मा प्रकाशित

बीरगञ्ज । भारतबाट भन्सार राजस्व छलेर ल्याइएको १३ लाख ६० हजार रुपैयाँ बराबरको अवैध टायरसहित ट्रयाक्टर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिका–२१ परवानीपुर चोकस्थित सडकखण्डमा चेकजाँचको क्रममा ट्रयाक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
    मिश्रका अनुसार परवानीपुर प्रहरी चौकी अन्तर्गतको नियमित चेकिङ टोलीले ना. ६ त ४१२९ नम्बरको ट्रयाक्टरबाट बस र ट्रकमा प्रयोग हुने १८ थान अवैध टायर फेला पारी बरामद गरेको हो । बरामद टायरहरू कसको हो भन्ने विषयमा हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालय पर्साले पछिल्ला दिनहरूमा भारतबाट अवैध रूपमा भित्र्याइएका सामानहरू निरन्तर रूपमा बरामद गर्दै आएको छ । अवैध आयातको क्रम बढेसँगै प्रहरीले निगरानी तथा कारबाही प्रक्रिया समेत तीव्र बनाएको छ । सार्वजनिक सरोकारका विषयमा सशक्त कदम चालेको भन्दै सर्वसाधारणले पनि सहयोग गर्न प्रहरीले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्