आफताब आलमलाई सफाइ दिने न्यायाधीश थारुलाई कालोमोसो

सम्वादाता | २०८२ जेठ ३० गते ०५: १७ मा प्रकाशित

बीरगञ्ज । मान्छेलाई जिउँदै इट्टा भट्टामा लजाएर हत्या गरेको आरोप लागेका आफताब आलमलाई उच्च अदालत जनकपुर वीरगञ्ज इजलसबाट सफाइ दिने न्यायाधीश खुशीप्रसाद थारुलाई कालोमोसो दलिएको छ ।
    बिहीबार उच्च अदालतभित्र नेकपा बहुमतका कार्यकर्ता बताउने एक समूहले थारुसहितका अदालतका कर्मचारीलाई दुव्यर्वहार गर्दै मोसो दलेका हुन् । मोसो दल्दै नेकपा बहुमतका कार्यकर्ताले भने, ‘नेकपा बहुमत जिन्दावाद, जनताको कर खाने जनताको विरुद्धमा फैसला गर्न पाइँदैन ।’
    पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कार्कीले घटनाबारे थाहा पाएको जानकारी दिए । उनले आफूहरुले पनि घटनाबारे थाहा पाई एउटा बैठक छाडेर त्यसबारे बुझिरहेको जनाए । जेठ १४ गते न्यायाधीश थारु र अर्का न्यायाधीश अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको थियो ।
    रौतहट जिल्ला अदालतका तत्कालीन न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान कसुरमा उनलाई दोषी ठहर गरेको थियो । त्यसलाई उल्ट्याउँदै थारु र महर्जनको इजलासले सफाइ दिएपछि आमनागरिकमा असन्तुष्टि पैदा भएको थियो ।
    संविधान सभा निर्वाचनताका २०६४ चैत २७ गते रौतहटको साविक राजपुर फरहदवा–४ मा रहेको कांग्रेस उम्मेदवार मोहम्मद अफताब आलमको घरमा बम विस्फोट भएको थियो । विष्फोटमा परी घाइते भएकालाई इट्टा भट्टामा लगेर जलाइएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्