अहमदाबाद हवाई दुर्घटनापछि ‘११ ए’ सिटका लागि यात्रीहरू थप पैसा तिर्न तयार

सम्वादाता | २०८२ असार २ गते ०१: ५१ मा प्रकाशित

काठमाडौं । अहमदाबादमा गएको हप्ता एयर इन्डियाको विमान उडेपछि केहीबेरमै दुर्घटनाग्रस्त भएको थियो । सो विमानमा रहेका २४२ यात्रुहरूमध्ये २४१ जनाको मृत्यु भएको थियो । केवल विश्वासकुमार रमेश नामका एक यात्रु मात्रै जीवित बच्न सफल भए । 

विश्वाशकुमार सो विमानमा ‘११ ए’ नम्बरको सिटमा बसेका थिए । यो सिट आपतकालीन ढोकाको नजिक थियो । अहिले यो सिटको माग एकाएक बढेको छ । विमान यात्रुहरू अब ‘११ ए’ सिट मात्र नभई इमरजेन्सी एग्जिट नजिकका सिटको पनि माग गरिरहेका छन् ।
वास्तवमा सबै एयरलाइन्समा इमरजेन्सी एग्जिट नजिकका सिटहरूमा खुट्टा फैलाउन पर्याप्त ठाउँ हुन्छ । त्यसैले यस्ता सिटहरू महँगा हुन्छन् । तर विमानको प्रकार र क्लासअनुसार इमरजेन्सी एग्जिट नजिकका सिटहरूको नम्बर फरक–फरक हुन्छ । उड्डयन विशेषज्ञहरूका अनुसार इमरजेन्सी एग्जिट नजिकका सिटहरूले विमान दुर्घटना हुँदा बढी सुरक्षा भने दिँदैनन्, केवल बस्न सहज र खुट्टा फैलाउन ठाउँ मिल्छ । 
टाइम्स अफ इन्डियाका अनुसार पहिले धेरै यात्रुहरू इमरजेन्सी एग्जिट नजिकका सिट लिँदैनथे, किनकि केही सिटहरू धेरै पछाडि नझुक्ने र आपतकालमा ढोका खोल्नुपर्ने जिम्मेवारीका कारण । तर अहमदाबाद दुर्घटनापछि यो ट्रेन्ड फेरिएको छ ।

कोलकाताका ट्राभल एजेन्टहरूले बताएका छन् कि पहिले अनुभवी र अग्ला यात्रुहरूले मात्र यस्ता सिट रोज्थे र बढी पैसा तिर्न तयार हुन्थे । तर अहिले अरू यात्रुहरूले पनि यस्ता सिटको बारेमा सोध्न थालेका छन् ।

थप पैसा तिर्न पनि तयार

जितेन्द्र सिंह बग्गा वितरण र लजिस्टिक्स व्यवसाय सञ्चालन गर्छन् । उनले आफ्ना ट्राभल एजेन्टलाई भनेका छन् कि अर्को हप्ता दिल्ली हुँदै अमेरिकाको यात्रामा उनीलाई इमरजेन्सी एग्जिट नजिककै सिट बुक गरिदिनु । 

बग्गाले भने, ‘इमरजेन्सी एग्जिट नजिकको सिट चाहिन्छ । म यसका लागि जति पैसा लागे पनि तिर्न तयार छु । यदि ब्रिटिश एयरवेजको १७ जुनको फ्लाइटमा ११ ए सिट इमरजेन्सी डोर नजिक छ भने म त्यही सिटमा बस्न चाहन्छु ।’

ली रोडका बासिन्दा राजेश भगनानी प्रायः हवाई यात्रा गर्छन् । उनले पनि आफ्ना ट्राभल एजेन्टलाई १६ जुनको मुम्बई यात्राका लागि इमरजेन्सी एग्जिट नजिकको सिट बुक गरिदिन भनेका छन् । 

उनले भने, ‘विश्वासकुमार बाँच्न सफल भएपछि मलाई पनि इमरजेन्सी एग्जिट नजिक बस्दा बाँच्ने सम्भावना बढी लाग्छ । जीवन र मृत्यु भाग्यमा निर्भर भए पनि म आफ्नो तर्फबाट प्रयास गर्न चाहन्छु । यदि एग्जिट नजिक ११ ए सिट छ भने त्योभन्दा राम्रो अरू के होला र ’

११ ए सिटको क्रेज बढ्दै

ट्राभल एजेन्ट्स फेडरेसन अफ इन्डियाका नेशनल कमिटी सदस्य अनिल पञ्जाबीले इमरजेन्सी एग्जिट नजिकका सिटबारे सोधपुछ बढेको पुष्टि गरेका छन । उनले भने, ‘कतिपय यात्रुहरू त ११ ए सिट नै खोजिरहेका छन्, त्यो एग्जिट नजिक नभए पनि । यसको क्रेज अहिले बढी देखिएको छ ।’

ट्राभल एजेन्ट्स एसोसिएसन अफ इन्डियाका पूर्वी क्षेत्र अध्यक्ष अञ्जनी धानुकाले पनि धेरै यात्रुहरूले इमरजेन्सी एग्जिट नजिकका सिटसँगै ११ ए सिटबारे समेत सोधपुछ गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्