पतञ्जली विवादसँगै प्रहरीको योग शिविर स्थगित

सम्वादाता | २०८२ असार ५ गते १२: ४० मा प्रकाशित

काठमाडौं । अन्तराष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपाल प्रहरीले आज गर्न लागेको योग शिविर स्थगित भएको छ ।
    पतञ्जली जग्गा प्रकरणसँगै बाबा रामदेव विवादमा परेपछि शिविर स्थगित गरिएको बताइएको छ ।  
    नक्सालस्थित प्रहरी हेडक्वाटरको अडिटोरियम हलमा बिहान ६ बजेका लागि “योग विज्ञान शिविर–२०८२” कार्यक्रम तय भएको थियो । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा गर्ने भनिएको कार्यक्रमका लागि सबै तयारीसमेत पूरा भैसकेको थियो । 
    प्रहरी मुख्यालयले त्यहाँ कार्यरत सबै अधिकृत तथा उपत्यकास्थित परिसर, वृत्त र चौकीहरुमा कार्यरत डिएसपीभन्दा माथिको दर्जाका सबै कर्मचारीलाई तोकिएको समय र युनिफर्ममा उपस्थित हुन आन्तरिक सर्कुलर पनि गरेको थियो । जसअनुसार अतिरिक्त महानिरीक्षक (एआइजी)हरुलाई बिहान पौने ६ बजे, नायव महानिरीक्षक (डिआइजी) र बरिष्ठ उपरीक्षक (एसएसपी)हरुलाई त्यसको पाँच मीनेटअगाडि ५ः४० बजे, उपरीक्षक (एसपी) र  नायव उपरीक्षक (डिएसपी) हरुलाई ५ः३५, निरीक्षक (इन्स्पेक्टर) हरुलाई साढे ५ र अन्य दर्जाका कर्मचारीलाई ०५: २० बजे पोशाक– स्केलको ट्रयाकसुट र जुत्तामा उपस्थित हुनु भनिएको थियो ।
    तर, पूर्व प्रधानमन्त्रीसमेतलाई मुद्दा चलाइएको पतञ्जली प्रकरण विवाद रहेको र सरकारी तवरबाट योग शिविर आयोजना गर्दा आमरुपमा राम्रो सन्देश नजाने भएकाले कार्यक्रम रोक्ने निर्णयमा पुगेको उच्च प्रहरी स्रोतले जनाएको छ । साभार ः जनआस्था

प्रतिक्रिया दिनुहोस्