अख्तियारको पर्सामा छड्के नजर, श्रीवास्तव र साह पक्राउ : भ्रष्ट प्रमुखहरुको निन्द हराम

सम्वादाता | २०८२ असार ६ गते ०३: ०७ मा प्रकाशित

पर्सा — अख्तियार अनुसन्धान आयोगले आज पर्साका विभिन्न पालिकाहरुमा छापामारी थालेको छ । पालिकाहरुमा बढ्दै गएको भ्रष्टाचारका समाचार प्रति आम नागरिकको गुनासो बढ्दै गएको बेला आयोग कडा रुपमा प्रस्तुत भएको छ । 
    यसै सन्दर्भमा पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले भ्रष्टाचारको आरोपमा पक्राउ गरेको छ । काठमाडौँको टंगालस्थित अख्तियारको विशेष टोलीले उनलाई शुक्रबार बिहान नियन्त्रणमा लिएको हो ।
    श्रीवास्तवमाथि विकास योजना कार्यान्वयन, कर्मचारी नियुक्ति, सार्वजनिक खरिद तथा बजेट विनियोजन प्रक्रियामा अनियमितता गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले पनि श्रीवास्तवको पक्राउ पुष्टि गरेका छन् ।
    श्रीवास्तवको गिरफ्तारीसँगै अख्तियारको टोलीले पर्सा जिल्लाकै पोखरिया नगरपालिकामा पनि छापा मारेको छ। छापा मार्ने क्रममा सो नगरपालिकामा कार्यरत कर्मचारी सन्दीप साहलाई वीरगञ्जको प्रगतीनगरस्थित उनको घरबाट पक्राउ गरिएको हो। आयोगले उजुरीका आधारमा प्रारम्भिक अनुसन्धानपछि छापा मारेको हो ।
    श्रोतका अनुसार, पोखरिया नगरपालिकाले अनाधिकृत रूपमा कर्मचारी भर्ना, ठेक्का प्रक्रिया, मालसामान खरिद, योजना निर्माण र कार्यान्वयनमा अनियमितता, तथा बजेट विनियोजनमा बेथिति गरेको विषयमा उजुरी परेका थिए। अनुसन्धानबाट सो उजुरीमा ठूलो मात्रामा भ्रष्टाचारको सम्भावना देखिएपछि छापा मारिएको हो ।
    अख्तियारको टोलीले पोखरिया नगरपालिकाको लेखा शाखा, योजना शाखा, र प्रशासन शाखामा एकैसाथ छापा मारी विभिन्न कागजात, प्राविधिक उपकरण तथा डिजिटल डेटा जफत गरेको छ ।
छापामारीका क्रममा करारमा नियुक्त कर्मचारीहरूको फाइल र प्रक्रिया, योजनाहरूको मूल्यांकन विवरण, कार्य प्रगतिसम्बन्धी अभिलेख एवम् भुक्तानी र बजेट विनियोजनसम्बन्धी कागजात लगायतका विवरणहरूको विश्लेषण भइरहेको आयोगले जनाएको छ ।
    अख्तियारको टोलीले पोखरिया नगरपालिकामा अनुसन्धान कार्य जारी राखेको छ । जफत गरिएका कागजातहरूको अध्ययनपछि थप व्यक्तिहरूको संलग्नता प्रमाणित भएमा गिरफ्तारी बढ्न सक्ने अनुमान छ । आयोगले प्रारम्भिक अनुसन्धानपछि विस्तृत अध्ययन गरी मुद्दा दायर गर्ने तयारी गरेको जनाएको छ ।
    आयोगको छापामारीले पर्सा जिल्लाभरीका पालिका तथा सरकारी कार्यालयहरुमा खैलाबैला मच्चिएको छ । भ्रष्टाचारको अखाडा मानिएका पर्साका नगरपालिका, गाउंपालिका, मालपोत, नापी, यातायात लगायतका कार्यालयहरुका हाकिमहरुको निन्द हराम भएको छ । अख्तियारले पर्साका सम्पूर्ण निकायहरुमा सुक्ष्म निगरानी गरिरहेको र हाल आएर छापामारी मार्फत भ्रष्ट कर्मचारीहरुलाई पक्राउ गर्दै कार्यवाही प्रक्रिया अगाडी बढाईरहेको छ ।
    यो घटनाले नेपालको स्थानीय तहमा पारदर्शिता, जवाफदेहिता र सुशासन कायम राख्न अझ कडा निगरानी आवश्यक रहेको देखाएको छ । विकास योजना र सार्वजनिक स्रोतमा हुने अनियमितता रोक्न स्थानीय सरकारहरूलाई अझ विधिसम्मत र उत्तरदायी बनाउने दबाब पनि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्