वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

सम्वादाता | २०८२ असार ८ गते १२: ३७ मा प्रकाशित

वीरगञ्ज । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज भन्सार नाकाबाट रु १ खर्ब ७४ अर्ब ९ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, एलपिजी (ग्यास), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल गरी पाँच प्रकारका पेट्रोलियम पदार्थको आयात भएको हो ।
    गत आवको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयातमूल्य रु १ अर्ब ६ करोडले घटेको भए पनि सोही अवधिमा भन्सार राजस्व भने उल्लेखनीय रूपमा वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको ११ महिनामा पेट्रोलियम आयातबाट रु ७३ अर्ब १८ करोड राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ११.६६ प्रतिशतले बढी हो ।
डिजेलको आयात घट्दा पनि राजस्वमा वृद्धि
भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार, डिजेलको सबैभन्दा बढी आयात भएको छ । चालु आवको ११ महिनामा १० लाख ३० हजार किलोलिटर डिजेल आयात हुँदा रु ८९ अर्ब ७६ करोडको कारोबार भएको छ । यसबाट रु ४१ अर्ब ३ करोड राजस्व संकलन गरिएको छ । अघिल्लो वर्ष यही अवधिमा ९ लाख २१ हजार किलोलिटर डिजेल आयात भई रु ९३ अर्ब ६३ करोडको कारोबार तथा रु ३६ अर्ब ४ करोड राजस्व संकलन भएको थियो ।
पेट्रोल र ग्यासको आयात तथा राजस्व बढ्यो
    त्यस्तै, पेट्रोलको आयात पनि केही वृद्धि भएको देखिन्छ। चालु आवमा ४ लाख १३ हजार किलोलिटर पेट्रोल आयात भई रु ३५ अर्ब ३४ करोडको कारोबार भएको छ । पेट्रोलबाट मात्रै रु २३ अर्ब ३८ करोड राजस्व संकलन गरिएको छ, जुन अघिल्लो वर्षको रु २० अर्ब ७३ करोडभन्दा करिब २ अर्ब ६५ करोडले बढी हो ।
    एलपिजी ग्यासको आयातमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। चालु आवमा २९ करोड १४ लाख किलोग्राम ग्यास आयात भई रु ३३ अर्ब ३५ करोडको कारोबार भएको छ भने रु ६ अर्ब २४ करोड राजस्व संकलन गरिएको छ। अघिल्लो वर्ष ग्यासबाट रु ५ अर्ब १६ करोड राजस्व संकलन भएको थियो ।
एटिएफ र मट्टितेलको व्यापार स्थिर
    एभिएसन टर्बाइन फ्युलको आयात केही घटेर १ लाख ६७ हजार किलोलिटर पुगेको छ, जसबाट रु १५ अर्ब ३ करोडको कारोबार र रु २ अर्ब ३५ करोड राजस्व संकलन भएको छ । अघिल्लो आवको सोही अवधिमा एटिएफबाट रु २ अर्ब ४७ करोड राजस्व संकलन गरिएको थियो ।
    मट्टितेलको आयातमा उल्लेखनीय परिवर्तन छैन। चालु आवमा ६ हजार ७३० किलोलिटर मट्टितेल आयात भई रु ५९ करोडको कारोबार भएको छ । यसबाट रु १६ करोड राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षजस्तै हो ।
पेट्रोलियम र सवारीसाधनबाट निर्भर राजस्व
    भन्सार प्रमुख लामिछानेका अनुसार वीरगञ्ज भन्सारको राजस्व मुख्य रूपमा पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातमा आधारित छ । “यही नाकाबाट हुने आयातले मुलुकको राजस्वमा ठूलो योगदान पु¥याएको छ,” उनले बताए ।
    यो तथ्याङ्कले स्पष्ट देखाउँछ कि वैश्विक बजारमा तेलको मूल्य घटेपनि नेपालको भन्सार राजस्वमा भने वृद्धिको सम्भावना रहन्छ, विशेषगरी आयात भोल्युम स्थिर वा उच्च रहेमा ।

प्रतिक्रिया दिनुहोस्