पोखरिया नगरपालिकामा अख्तियारको पुनः छापा, कागजात संकलन

सम्वादाता | २०८२ असार ११ गते ०३: ०५ मा प्रकाशित

बीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाको टोलीले पुनः छापा मारेको छ । यसअघि असार ६ गते अख्तियार, काठमाडौंको टोलीले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव र नायब सुब्बा सन्दीप साहलाई नियन्त्रणमा लिएपछि सुरु गरिएको अनुसन्धानलाई अगाडि बढाउँदै अख्तियारको टोलीले मंगलबार पुनः छानबिन गरेको हो ।
    अख्तियारको टोलीले असार १० गते बिहान ११ बजेदेखि राति ७ बजेसम्म कार्यालयमा व्यापक छानबिन गर्दै योजना, लेखा, जिन्सी तथा २०७९ सालमा गरिएको कर्मचारी भर्नासम्बन्धी कागजातहरू संकलन गरेको प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंहले जानकारी दिए ।
    यसअघि नियन्त्रणमा लिइएका अजय श्रीवास्तव हाल बहुदरमाई नगरपालिकामा कार्यरत थिए भने सन्दीप साह पोखरिया नगरपालिकाकै जिन्सी तथा प्रशासन शाखामा कार्यरत थिए । उनीहरूलाई भ्रष्टाचार र आर्थिक अनियमिततासम्बन्धी उजुरीका आधारमा वीरगञ्जस्थित निवासबाट पक्राउ गरिएको थियो ।
    छापा पछि योजना, लेखा तथा जिन्सी शाखाका जिम्मेवार कर्मचारीहरू कार्यालय नआएको भए पनि सोमबार नगरसभा सम्पन्न भएपछि केही कर्मचारीको उपस्थिति देखिएपछि हेटौंडाबाट आएको अख्तियार टोलीले आकस्मिक रूपमा छापा मारेको हो ।
    श्रीवास्तवमाथि बिना आन्तरिक स्रोत र दरबन्दी सयौँको संख्यामा कर्मचारी नियुक्ति, विकास निर्माणको नाममा आर्थिक अनियमितता, सशर्त अनुदानको रकम नियमविपरीत रकमान्तर गरी खरिद तथा भुक्तानीमा गम्भीर लापरबाही गरेको आरोप छ ।
    अख्तियारले यस मामिलामा प्रारम्भिक अनुसन्धान अगाडि बढाइसकेको छ भने नियन्त्रणमा रहेका कर्मचारीहरूसँग विस्तृत बयान लिइँदैछ । पछिल्लो समय स्थानीय तहमा देखिएको अनियमितता नियन्त्रण गर्न अख्तियारको सक्रियता तीव्र बनिरहेको देखिएको छ ।
    यो घटना नेपालका स्थानीय तहहरूमा देखिएको वित्तीय र प्रशासनिक अनियमितताको एक उदाहरण हो, जहाँ बिना दरबन्दी नियुक्ति, सरकारी बजेटको दुरुपयोग, र कागजमा मात्रै भएका विकास योजनाहरूका नाममा भ्रष्टाचार गर्ने प्रवृत्तिविरुद्ध अख्तियारको कारबाही सुरु भएको देखिन्छ । यदि अनुसन्धान निष्पक्ष र प्रभावकारी रूपमा अगाडि बढाइयो भने यसले देशभरका अन्य स्थानीय तहहरूलाई पनि सचेत र जवाफदेही बनाउन सहयोग पु¥याउन सक्छ  ।

प्रतिक्रिया दिनुहोस्