वीरगञ्जमा श्री गहवामाई रथ यात्रा २०८२ भव्य रूपमा आयोजना हुने, तयारी अन्तिम चरणमा

सम्वादाता | २०८२ असार १२ गते ०३: १९ मा प्रकाशित

वीरगञ्ज, असार १२ – मधेश प्रदेशको धार्मिक तथा सांस्कृतिक पहिचानको प्रतीक श्री गहवामाई रथ यात्रा २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ। श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा रथ यात्रा असार १३ गते, शुक्रबार बिहान ७ः३० बजे वीरगञ्जस्थित माईस्थान मन्दिरबाट सुरु हुने भएको हो।

वीरगञ्जमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत समितिले रथ यात्रा कार्यक्रम, अनुमानित खर्च, तथा समितिको औपचारिक संरचनाबारे जानकारी गराएको हो। अध्यक्ष श्यामकुमार पोखरेलका अनुसार, रथ यात्रा र समग्र महोत्सवका लागि करिब २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

समितिका अनुसार, श्री गहवामाई रथ यात्रा वीरगञ्ज मात्र होइन, सम्पूर्ण मधेश प्रदेशकै पहिलो झाँकीसहितको सांस्कृतिक रथ यात्रा हो। यस अवसरमा विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रमहरू पनि आयोजना गरिनेछ।

कार्यक्रम तालिका:

  • रथ यात्रा प्रारम्भ:
    मिति – असार १३, शुक्रबार
    समय – बिहान ७:३० बजे
    स्थान – माईस्थान मन्दिर

  • भजन–कीर्तन तथा सम्मान कार्यक्रम:
    मिति – असार १३, शुक्रबार
    समय – बेलुका ७:०० बजे

  • छपन्न भोग:
    मिति – असार १४, शनिबार
    समय – बिहान ६:०० बजे

  • महाप्रसाद तथा भण्डारा:
    मिति – असार १४, शनिबार
    समय – बेलुका ४:०० बजे

रथ यात्रालाई अझ प्रभावकारी बनाउन समिति द्वारा रक्तदान, निःशुल्क स्वास्थ्य शिविर जस्ता सामाजिक गतिविधिहरू पनि सञ्चालन गरिनेछ।

समितिले सबै सञ्चारकर्मी, श्रद्धालु, समाजसेवी तथा शुभेच्छुहरूलाई कार्यक्रमको सफलताका लागि नैतिक, भौतिक तथा आर्थिक सहयोग गर्न आग्रह गरेको छ।

आयोजनाको उद्देश्य

समितिका अनुसार, यो रथ यात्रा धार्मिक पर्यटन प्रवद्र्धन, सनातनी परम्पराको संरक्षण, र सामुदायिक एकता अभिवृद्धि गर्ने मूल लक्ष्यसहित आयोजना गरिएको हो।

समितिले विश्वास व्यक्त गरेको छ कि यसपटकको रथ यात्रा भव्य, ऐतिहासिक तथा स्मरणीय बन्नेछ।

प्रतिक्रिया दिनुहोस्