मदन भण्डारी फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुंदै

सम्वादाता | २०८२ असार १२ गते ०४: ३३ मा प्रकाशित
प्रकाश तिवारी
वीरगञ्ज । सर्वसाधारणका लागि लक्षित गरी मदन भण्डारी फाउण्डेशन पर्साले वीरगञ्जमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । शिविर असार १४ गते, शनिबार वीरगञ्ज महानगरपालिका–२५ स्थित ड्राइपोर्टको मेनगेटदेखि पूर्व रहेको श्रीराम जानकी मठको धर्मशालामा आयोजना गरिनेछ ।
शिविरको बारेमा जानकारी दिँदै नेकपा एमाले वीरगञ्ज महानगर कमिटीका अध्यक्ष नवराज शर्माले फाउण्डेशनले स्वास्थ्य क्षेत्रमा सेवा अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम ल्याएको बताए।
शिविरमा विभिन्न रोग विशेषज्ञ चिकित्सकहरूद्वारा निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिनेछ। कार्यक्रममार्फत स्थानीय बासिन्दाहरूले आफ्नो स्वास्थ्य अवस्थाको निःशुल्क परीक्षण गर्न पाउने छन् ।
चिकित्सा क्षेत्रमा चिनिएका फिजिसियन विशेषज्ञ डा. प्रमोद सर्राफ, आंखा सर्जन डा. चन्दन बेनर्जी, चिनी, थाईराइड, हर्मोन रोग विशेषज्ञ तथा फिजिसियन डा. राजिव यादव, कान, नाक, घांटी रोग सर्जन डा. स्लेश्मा रिजाल, दांत रोग विशेषज्ञ डा. अजय कुमार आस्थान तथा हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. शैलेश कुमार साहले सेवा दिनेछन् ।
फाउण्डेशनले स्वास्थ्य क्षेत्रमा पहुँच अभाव रहेका समुदायहरूलाई लक्षित गर्दै यस्तो सेवा प्रदान गर्न लागेको हो ।
आम नागरिकलाई निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, रोगको प्रारम्भिक अवस्था पहिचान गरी निवारणमा मद्दत पु¥याउने तथा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालन हुन लागेको शिविरमा स्थानीयवासी, सेवाग्राहीहरू, समाजसेवी तथा सरोकारवालाहरू लाभान्वित हुने विश्वास व्यक्त गर्दै फाउण्डेशनले सबैलाई समयमै उपस्थित भई सेवा लिन अनुरोध गरेको छ ।
शिविरको व्यवस्थापन नेकपा एमाले वीरगञ्ज महानगर कमिटीले गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्