पर्साको राजनीतिक क्षितिजमा उदाउँदो नामः युवा नेता सुधीर पटेल

आज उनी पदमा नरहे पनि प्रभावमा छन्, चुनावमा हारे पनि जनताको माया जितेका छन् ।

सम्वादाता | २०८२ असार १२ गते ०५: २० मा प्रकाशित
प्रकाश तिवारी
पर्सा । राजनीतिमा परिवर्तनको खोजी जब युवाहरूबाट सुरु हुन्छ, तब आशा र सम्भावनाको नयाँ अध्याय खुल्छ । पर्सा जिल्लामा यस्तै एक प्रेरणादायी नाम हुन् — सुधीर पटेल । निर्वाचनमा पराजित भए पनि जनताको मन जित्न सफल यी युवा नेता आज पर्सा मात्र होइन, प्रदेशस्तरमै युवाको आवाज बन्न थालेका छन् ।
२०७९ सालको प्रदेशसभा निर्वाचनमा पर्सा क्षेत्र नं. १ ‘क’ बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवारी दिएका पटेलले भोटमार्फत हैन, व्यवहारमार्फत जनताको मन जित्ने यात्रामा आफूलाई समर्पित गरेका छन् । निर्वाचन परिणामले उनले अघि बढेको बाटो रोकेन, उल्टै उनले ‘हार’लाई ‘सकारात्मक ऊर्जा’मा रूपान्तरण गरे ।
राजनीति होइन, सेवा नै धर्म
सुधीर पटेल भन्छन्, “राजनीति मेरो लागि शक्ति प्रदर्शन होइन, सेवा गर्ने माध्यम हो ।” यही सोचले गर्दा उनी जनताको मनमा विश्वासिलो छवि बनाउन सफल भएका छन् । उनले युवाहरूलाई राजनीति र सामाजिक सेवा तर्फ आकर्षित गर्न प्रेरणादायी भूमिका खेलिरहेका छन् ।
उनले पछिल्लो समय गाउँ–टोलका विकास परियोजनामा सरोकारवाला निकायसँग समन्वय गर्दै जनचेतनामूलक कार्यक्रम, युवा सशक्तिकरण, शिक्षा प्रवद्र्धन र सामाजिक न्यायका विषयमा खुलेर बोल्दै आएका छन् ।
समाजमा बढ्दो प्रभाव, युवाको भरोसा
स्थानीय युवाहरू भन्छन्, “सुधीर दाइ हामीजस्तै सोच्नुहुन्छ, हामीजस्तै बोल्नुहुन्छ । उहाँजस्ता नेताहरू हामीलाई राजनीति र परिवर्तनप्रति आस्था दिलाउँछन् ।” सहज, मृदु भाषी र सरल स्वभावका कारण सुधीर पटेल गाउँ–शहरका सबै वर्गमा लोकप्रिय छन् ।
बिशेषतः उनले कुनै पदमा नभए पनि आमनागरिकका समस्या सुनिदिने, समाधान खोजिदिने व्यवहारले गर्दा उनमा ‘नेतृत्वको गुण’ स्वाभाविक रूपमा देखिएको छ ।
भविष्यका सम्भावनाः नयाँ पुस्ताको नयाँ भरोसा
सुधीर पटेल जस्ता युवाको सक्रियता राजनीतिक शुद्धीकरण र नव निर्माणको संकेत हो । सधैं संघर्षको बाटो हिँड्ने उनले सानो पदको लोभ होइन, दीर्घकालीन प्रभाव र जनसेवामा विश्वास राख्ने बताउँछन् । उनी भन्छन्, “राजनीति जित्नु होइन, जनताको मन जित्नु मुख्य कुरा हो ।”
उनको योजनाबद्ध कार्यशैली, अनुशासन, समाजप्रतिको जिम्मेवारी र सकारात्मक दृष्टिकोणले उनी निकट भविष्यमा पर्सा जिल्लाको नेतृत्वमा नयाँ सन्देश दिन सक्ने संकेत देखिन्छ ।
जब राजनीति पुरानो अनुहारमा थलिएको थियो, त्यहीबेला सुधीर पटेलजस्ता युवा नेतृत्वले नयाँ आशा बोकेर पर्सामा पाइला टेके । आज उनी पदमा नरहे पनि प्रभावमा छन्, चुनावमा हारे पनि जनताको माया जितेका छन् । पर्साका जनताले अब उनीभित्र भावी नेतृत्वको सम्भावना देख्न थालेका छन् । उनी अब राजनीतिक विकल्प मात्र होइन, विश्वासको नयाँ नाम बन्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्