वीरगञ्जमा एक लाखभन्दा बढी श्रद्धालुहरूको सहभागितासहित श्री गहवामाई रथ यात्रा भव्य रूपमा सम्पन्न

सम्वादाता | २०८२ असार १३ गते ०२: ०० मा प्रकाशित
वीरगञ्ज । वीरगञ्जस्थित श्री गहवामाई मन्दिरबाट सुरु भएको तेस्रो श्री गहवामाई रथ यात्रा आज शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ । गहवामाई मन्दिरको पुनर्निर्माणको १६औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको यस रथ यात्रामा एक लाखभन्दा बढी श्रद्धालुहरूको सहभागिता रहेको आयोजक समितिले जनाएको छ ।
श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिको संयोजनमा गठित धार्मिक समन्वय समितिद्वारा आयोजित रथ यात्रा बिहान ८ बजे मन्दिर परिसरबाट विशेष पूजापाठसहित सुरु भई घण्टाघर चोक, रेल्वे रोड, नगवा, छपकैया, बिर्ता, आदर्शनगर, महावीरस्थान हुँदै पुनः मन्दिरमा पुगेर सम्पन्न भएको हो ।
पर्सा जिल्लासहित बारा, रौतहट, सर्लाही, मकवानपुर, चितवन र काठमाडौँबाट श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । त्यस्तै, सीमावर्ती भारतीय सहरहरू रक्सौल, मोतिहारी, बेतिया, रामगढवा र अरेराजबाट पनि ठूलो सङ्ख्यामा भक्तजन सहभागी भएका थिए ।
नगरवासीहरूले विभिन्न स्थानमा रथको स्वागत गर्दै पुष्पवर्षा गरे। श्रद्धालुहरूका लागि पानी, जुस तथा अन्य सेवा सुविधा समेत उपलब्ध गराइएको थियो । सहभागीहरूले भगवा र रातो रङको लुगा लगाई ‘गहवामाई की जय’ नारासहित उत्सवमा सहभागिता जनाएका थिए ।
रथ यात्रा भव्य रूपमा सम्पन्न भएकाले वीरगञ्ज महानगरपालिकाले आज नगरका सम्पूर्ण विद्यालयहरूमा सार्वजनिक बिदा दिएको थियो । महानगर प्रमुख राजेशमान सिंहले रथ यात्राले धार्मिक तथा सांस्कृतिक सन्देश दिनुका साथै वीरगञ्जलाई धार्मिक पर्यटनको गन्तव्य बनाउने दिशामा योगदान पु¥याएको बताए । उनले आगामी वर्षदेखि रथ यात्राको लागि महानगरबाट विशेष बजेट विनियोजन गरिने प्रतिबद्धता पनि व्यक्त गरे ।
रथ यात्राको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायत सुरक्षा निकायहरूले विशेष तयारीसहित सयौं सुरक्षाकर्मी परिचालन गरेका थिए ।
समितिका सचिव पप्पु गुप्ताका अनुसार, यो मधेस प्रदेशकै पहिलो धार्मिक झाँकीसहितको सांस्कृतिक रथ यात्रा हो। कार्यक्रम अन्तर्गत छपन्न भोग, भजन–कीर्तन, महाप्रसाद वितरण र भव्य भन्डारा आयोजना गरिएको छ । आज बेलुका ७ बजे छपन्न भोग प्रसाद वितरण, भोली शनिबार बिहान ६ बजेदेखि महाप्रसाद वितरण र साँझ ४ बजेदेखि भन्डाराको कार्यक्रम तय गरिएको छ ।
कार्यक्रमको अनुमानित खर्च करीब २५ लाख रुपैयाँ रहेको समितिका अध्यक्ष श्यामकुमार पोखरेलले जानकारी दिए । समितिले रथ यात्राको समापनपछि सम्पूर्ण आर्थिक विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ ।
धार्मिक पर्यटन प्रवद्र्धन, सनातनी परम्पराको संरक्षण र सामाजिक एकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित रथ यात्रा ऐतिहासिक बनेको आयोजक समितिको विश्वास छ ।

 

प्रतिक्रिया दिनुहोस्