गाँजा बरामद प्रकरण : छ दिनसम्म तथ्य गोप्य, मिलोमतोको आशंका

सम्वादाता | २०८२ सावन ७ गते ०१: ०० मा प्रकाशित

 पर्सा । पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिका वडा नं. २ स्थित सुर्जहा टोलबाट प्रहरीले करिब २०० किलोग्राम लागूऔषध गाँजा बरामद गरेकोमा अहिले उक्त घटनासँग सम्बन्धित विवरणहरू गोप्य राखिएकोले गम्भीर प्रश्नहरू उठ्न थालेका छन्। गएको असार ३२ गते जिल्ला प्रहरी कार्यालय पर्साको टोली तथा इलाका प्रहरी कार्यालय पोखरीयाको सहयोगमा सो गाँजा बरामद गरिएको थियो। तर, आजसम्म अर्थात् ६ दिन बितिसक्दासमेत पर्सा प्रहरीले न प्रेस विज्ञप्ति जारी गरेको छ, न त गाँजा कहाँबाट र कसको घरबाट बरामद गरियो भन्ने तथ्य सार्वजनिक गरिएको छ। पत्रकारहरूले इलाका प्रहरी कार्यालय पोखरीयामा सोध्दा "प्रेस विज्ञप्ति जिल्ला प्रहरी कार्यालयले जारी गर्छ" भन्ने जवाफ दिइएको छ भने, जिल्ला प्रहरी कार्यालयले भने "इलाका कार्यालयबाट बुझ्नू" भन्दै पन्छिने प्रयास गरेको देखिएको छ। यसरी एक आपसमा जिम्मेवारी टार्ने शैलीले घटनाको पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ। स्थानियवासी तथा नागरिक समाजका अगुवाहरूले यस्तो ढिलासुस्ती र गोपनीयताले मामिला मिलाउन बिचौलियाको चलखेल चलिरहेको आशंका बढाएको बताएका छन्। सार्वजनिक रूपमा कुनै व्यक्ति न पक्राउ पर्नु, न त कुनै नाम सार्वजनिक हुनु, बरु घटनालाई दबाउने शैली अपनाइनु प्रहरी र माफियाबीचको मिलोमतोको सम्भावना देखिएको संकेत हो। यस प्रकारको बेथितिप्रति स्थानीय बासिन्दाले चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। प्रहरीजस्तो संवैधानिक अंगबाट पारदर्शिता र जवाफदेहिताको अपेक्षा गरिन्छ, तर हाल देखिएको गोप्य र अस्पष्ट गतिविधिले कानूनी शासनप्रति नै जनता निराश हुन थालेका छन्। यदि प्रहरी प्रशासनले तत्काल प्रेस विज्ञप्ति जारी गरी सत्य तथ्य सार्वजनिक नगरेमा यो विषय थप राजनीतिक र सामाजिक दबाबमा पर्ने निश्चित देखिन्छ।

प्रतिक्रिया दिनुहोस्