नारायणी अस्पतालको नर्स आवास क्वार्टरमा गैरनर्सको अवैध कब्जा

डेढ दशकदेखि समाधानविहीन

सम्वादाता | २०८२ सावन १६ गते ०१: ०२ मा प्रकाशित
वीरगञ्ज, १५ साउन — नारायणी अस्पताल, वीरगञ्जमा नर्सहरूको लागि निर्माण गरिएको आवास क्वार्टरमा डेढ दशकदेखि गैरनर्सहरूको अवैध कब्जा कायम रहेको पाइएको छ । अस्पताल प्रशासनका अनुसार ३२ कोठे उक्त क्वार्टरमध्ये करिब ४० प्रतिशत कोठामा नर्सबाहेकका कर्मचारी तथा बाह्य व्यक्तिहरू बसेका छन् ।
महेन्द्र आरोग्य भवनको पश्चिमतर्फ रहेको क्वार्टर नर्सहरूका लागि भनेर निर्माण गरिएको हो । तर, निर्माणपछि नै अस्पतालका तत्कालीन कर्मचारी, जनस्वास्थ्य कार्यालयका कर्मचारी तथा अन्य निकायबाट आएका व्यक्तिहरूले कोठा कब्जा गरी बसेका छन् । सरुवा भई गएपछि पनि कोठा खाली नगरी आफन्तलाई जिम्मा लगाउने, तालाबन्दी गर्ने वा अरूलाई बस्न दिने जस्ता कार्य भइरहेको छ ।
नर्सका लागि बनाइएको आवासमा गैरनर्सहरूको कब्जाले गर्दा बाहिरबाट आएका नयाँ नर्सहरू अस्पतालको क्वार्टर नपाई डेरामा बस्न बाध्य छन् । यसकै असरस्वरूप अस्पतालमा दक्ष जनशक्ति टिक्न सकिरहेको छैन ।
अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताका अनुसार अवैध बसोबास हटाउने प्रयास बारम्बार भए पनि राजनीतिक हस्तक्षेपले अभियान अघि बढ्न सकेको छैन । “क्वार्टर खाली गराउने प्रक्रिया थाल्नासाथ राजनीतिक दबाब आउँछ, जसले गर्दा हरेकपटक अभियान रोकिन्छ,” उनले बताए ।
अस्पतालका हालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास पनि क्वार्टर नपाएर एक महिनासम्म होटलमा बस्नुपरेको उदाहरण छ । यस्तै, अस्पतालको ११ तहकी मेट्रोन समेत अहिलेसम्म डेरामै बसिरहेकी छन् ।
अस्पताल प्रशासनका प्रमुख ह्दयेश गिरीका अनुसार हाल नयाँ रणनीति अवलम्बन गरिएको छ । अब क्वार्टरबाट बाहिरिनेहरूलाई साँचो बुझाएको प्रमाण बिना रवानापत्र नदिइने व्यवस्था गरिएको छ । उक्त नियम लागू गरेपछि हालसम्म एकजनाले मात्र क्वार्टर खाली गरेको उनले जानकारी दिए ।
तर, सेवानिवृत्त, घर भएका वा अन्यत्र सेवा गर्ने व्यक्तिहरूको हकमा भने अस्पताल प्रशासन मौन देखिएको छ । स्थानीय प्रहरी प्रशासनले अवैध कब्जा हटाउन सहयोग गर्ने आश्वासन दिँदै आएको भए पनि अस्पताल प्रशासनले हालसम्म त्यसको औपचारिक पहल गरेको छैन ।
यसैबीच, अस्पताल परिसरकै प्रसूति गृहको पूर्वतर्फ रहेको २४ कोठे आवास भवनमा पनि त्यस्तै अवस्था रहेको देखिएको छ । अधिकांश कोठामा गैरचिकित्सक तथा गैरस्वास्थ्यकर्मीहरूको बसोबास रहेको स्रोत बताउँछ ।
निजी सम्पत्तिको जस्तो व्यवहार हुँदै आएको अस्पतालको आवास व्यवस्थापनमा सुधार ल्याउन अब गम्भीर राजनीतिक इच्छाशक्ति र प्रशासनिक कडाइ आवश्यक देखिएको छ । नत्र भने, नारायणी अस्पतालमा सेवा प्रवाहसँगै दक्ष जनशक्ति अभाव झन् जटिल बन्दै जाने जोखिम बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्