वीरगञ्जमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न, हरियाली विस्तारमा समुदायको सक्रियता

सम्वादाता | २०८२ सावन १६ गते ०१: ३२ मा प्रकाशित
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका, राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समिति (भरतपुर, चितवन) र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर वीरगञ्ज पर्साको संयुक्त आयोजनामा वृहत वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ अन्तर्गत वैष्णवी मन्दिर चौकदेखि नयाँ बसपार्कसम्मको सडक किनारमा आयोजना गरिएको कार्यक्रममा करिब ७० वटा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका छन् । बिरुवाहरूको संरक्षण सुनिश्चित गर्न प्रत्येकमा लोहाको तारजाली (प्रोटेक्टिभ गार्ड) पनि जडान गरिएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रम ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले वृक्षारोपण कार्यक्रममार्फत वातावरण संरक्षणप्रति सामुदायिक सहभागिता अभिवृद्धि हुनु सकारात्मक संकेत भएको बताए । “हरियाली विस्तार हाम्रो महानगरको दीर्घकालीन प्राथमिकता हो । यस्ता कार्यक्रमले वातावरणीय सन्तुलन मात्र होइन, सामाजिक सहकार्यलाई पनि मजबुत बनाउँछ,” उनले भने ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र, सशस्त्र प्रहरी प्रमुख एसपी पुरनचन्द्र भट्ट, नेपाल इनोभेट सोसाइटीका अध्यक्ष कमल चौगाई, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईं, जिल्ला ट्राफिक प्रहरी प्रमुख लोकराज भट्ट, शस्त्र प्रहरी भन्सार पर्साका डीएसपी पुरूषोत्तम भण्डारी, चुरे तराई मधेश संरक्षण समिति चितवनका अध्यक्ष डा. किरण पौडेल, महानगर सरसफाइ प्रमुख सर्फुदिन अन्सारी, भारतीय महावाणिज्यदूतावास वीरगञ्जका प्रमुख डी.एस. मिना लगायत अधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, स्थानीय बासिन्दा, सञ्चारकर्मी, समाजसेवी र सुरक्षाकर्मीहरूको समेत सक्रिय सहभागिता रहेको थियो । 

 

प्रतिक्रिया दिनुहोस्