स्व. सुबोध स्मृति पत्रकारिता पुरस्कार : तीनजना पत्रकार सम्मानित हुने

सम्वादाता | २०८२ सावन १८ गते ०१: ०४ मा प्रकाशित

प्रकाश तिवारी
वीरगञ्ज l
वीरगञ्जबाट नियमित प्रकाशन हुँदै आएको प्रतीक दैनिक प्रकाशन समूहले यस वर्षको "स्व. सुबोध स्मृति पत्रकारिता पुरस्कार" मोफसलका तीनजना पत्रकारलाई प्रदान गर्ने भएको छ।

पत्रिकाको स्थापना दिवसको अवसरमा यही भदौ १ गते आयोजना हुने वार्षिकोत्सव समारोहमा पत्रकार क्रान्ति साह, स्तम्भकार ओमप्रकाश खनाल र संवाददाता प्रमोद यादवलाई नगदसहित सम्मान गरिने कार्यक्रम तय गरिएको छ।

पुरस्कृत हुने पत्रकारमध्ये क्रान्ति साह राष्ट्रिय दैनिक अन्नपूर्ण पोस्ट मा कार्यरत छन्। उनी आफैंले सञ्चालन गर्दै आएको मधेस खबर अनलाइनमार्फत मधेस क्षेत्रका समाचार, विश्लेषण र मुद्दालाई निरन्तर उठाउँदै आएका छन्। पत्रकारिता क्षेत्रमा उनको लामो अनुभव छ।

त्यस्तै, अर्थ विषयमा कलम चलाउँदै आएका ओमप्रकाश खनाल यस क्षेत्रका अनुभवी स्तम्भकार हुन्। उनी हाल नेपाल पत्रकार महासंघ, पर्सा शाखाको अध्यक्षको जिम्मेवारीमा समेत छन्। खनालले दशकभन्दा बढी समयदेखि लेखनमार्फत अर्थ, विकास र सामाजिक मुद्दामा प्रभावशाली उपस्थिति जनाउँदै आएका छन्।

अर्का पुरस्कृत पत्रकार प्रमोद यादव प्रतीक दैनिक का ग्रामीण संवाददाता हुन्। उनी विशेषतः ग्रामीण क्षेत्रमा आधारित समस्याहरु, जनजीवन र विकाससम्बन्धी विषयवस्तुमा नियमित रुपमा लेख्दै आएका छन्। यादव नेपाल पत्रकार महासंघ, पर्सा शाखाका सदस्य समेत हुन्।

पत्रकार स्व. सुबोध सिंहको सम्झनामा स्थापना गरिएको यो पुरस्कार प्रतीक दैनिकको स्थापनादिनमा प्रत्येक वर्ष उत्कृष्ट पत्रकार, स्तम्भकार तथा संवाददातालाई प्रदान गरिँदै आएको छ।

प्रकाशन समूहका अनुसार तीनैजना पत्रकारलाई पत्रकारितामा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै यस वर्षको स्मृति पुरस्कारका लागि चयन गरिएको हो। वीरगञ्जमा हुने विशेष कार्यक्रममार्फत उनीहरूलाई सम्मान गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्