महानगरको सवारी–कबाडी कर ठेक्कामा उल्लेख्य वृद्धि

भदौ १ देखि नयाँ दरमा असुली सुरु हुने

सम्वादाता | २०८२ सावन १८ गते ०१: ३३ मा प्रकाशित
प्रकाश तिवारी
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको सवारी कर तथा कबाडी कर ठेक्कामा यो वर्ष उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८२-८३ का लागि खोलिएको ठेक्का प्रक्रियामा प्रतिस्पर्धात्मक दर प्रस्ताव आएपछि दुईवटै कर शीर्षकको ठेक्का अघिल्ला वर्षको तुलनामा उच्च दरमा पक्की भएको हो ।
राजस्व महाशाखाका प्रमुख मनोज कर्णका अनुसार, सवारी कर ठेक्का प्रभु कन्सट्रक्सनले सात करोड ६१ लाख रुपैयाँ (भ्याटबाहेक) मा हात पारेको छ । भ्याटसहित यो रकम आठ करोड ६१ लाख पुग्नेछ । अघिल्लो आव ०८१-८२ मा सोही ठेक्का छ करोड ७१ लाख मा पाइएको थियो भने त्यस अघिको वर्षमा तीन करोड तीन लाख मात्र थियो ।
त्यस्तै, कबाडी कर ठेक्का अमित ठेक्कापट्टाले चार करोड ८८ लाख (भ्याटबाहेक) मा लिएको छ । भ्याटसहित यो रकम पाँच करोड ५१ लाख पुग्ने जनाइएको छ । अघिल्लो वर्ष यो ठेक्का चार करोड ३० लाख र त्यस अघिको वर्ष तीन करोड छ लाख मा पाइएको थियो ।
यसअघि असारमा निकालिएको टेन्डरमा ठेकेदारबीच मिलेमतो भएको आशंका भएपछि नगरप्रमुख राजेशमान सिंहले टेन्डर रद्द गर्न निर्देशन दिएका थिए । सो टेन्डरमा ठेकेदारहरूले नगरले तोकेको न्यूनतम रकममा सामूहिक रुपमा कम मात्र प्रस्ताव दिएको पाइएको थियो ।
महानगरले यसपटक भ्याटसहित ठेक्का सम्झौता गरेको छ । अघिल्लो वर्षसम्म भ्याटबाहेक रकममा ठेक्का दिइँदै आएको थियो ।
महानगरका अनुसार हालसम्म पुराना ठेकेदारहरूले साउन मसान्तसम्म पुरानै दररेट मा कर असुली गर्दै आएका छन् भने भदौ १ गतेदेखि नयाँ ठेकेदारले नयाँ दररेट अनुसार कर संकलन गर्ने छन् ।
सवारी कर तथा कबाडी कर ठेक्का विगतदेखि नै विवादित रहँदै आएको छ । ठेकेदारहरूद्वारा मापदण्डविपरीत कर असुली, सेवाग्राहीमाथि दबाब तथा मनोमानी व्यवहारका कारण विरोध र आलोचना हुँदै आएको छ ।
महानगरले भने यसपटक ठेक्का प्रक्रिया पारदर्शी ढंगले सम्पन्न भएको दाबी गर्दै कर संकलन कार्यमा निगरानी तथा अनुगमन कडाइका साथ अघि बढाइने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्