मधेसमा वर्षाले किसानलाई राहत

तर अझै निरन्तर पानीको खाँचो

सम्वादाता | २०८२ सावन १९ गते ०२: २४ मा प्रकाशित
बीरगंज । लामो समयको खडेरीपछि मधेसमा परेको गएरातिको वर्षाले किसानलाई केही राहत दिएको छ । पानी नपरेका कारण झण्डै ५० प्रतिशत धान रोपाइँ बाँकी रहेको अवस्थामा परेको वर्षाले खेतमा हरियाली फर्काउने आशा पलाएको हो । तर, कृषि विज्ञ र मौसमविद्हरूका अनुसार अझै निरन्तर वर्षा नभएसम्म समस्या समाधान नहुने देखिन्छ ।
बीरगञ्ज–२५ का किसान भन्छन्, “पानी नपर्दा बीउ पहेँलिएको थियो, रोप्ने अवस्था थिएन । अब पहेँलिएको बीउ रोप्न पाइने आशा पलाएको छ, तर अझै पर्याप्त पानी छैन ।”
मधेसका केही भूभागमा भूमिगत पानीको सहायताले केही रोपाइँ भएको भए पनि अधिकांश भेगमा अधिकांश किसानले रोपाइँ सुरु गर्न सकेका छैनन् ।
यता कृषि ज्ञान केन्द्र सिरहाका अनुसार जिल्लामा हालसम्म जम्मा ५० प्रतिशत भन्दा कम धान रोपाइँ सम्पन्न भएको छ । लहान नगरपालिकाका कृषि संयोजक बद्रीनारायण यादवले पनि राति परेको पानीले केही सहजता भए तापनि अझै अपुग रहेको बताए । “यदि एक दिन निरन्तर पानी परेको भए रोपाइँ झनै सहज हुनेथियो,” उनले भने, “तर आजको मौसम हेर्दा त्यस्तो सम्भावना देखिँदैन ।”
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सरेको छ, जसका कारण मधेसमा हल्कादेखि मध्यम वर्षा मापन गरिएको छ। विगत २४ घण्टामा सिरहामा ९९.४ मिमि, लहानमा ७७.२ मिमि, सप्तरीको बरमझियामा ९१.८ मिमि, सर्लाहीमा ४८ मिमि, धनुषाको हर्दिनाथमा ४७ मिमि, चिसापानीमा ६८.२ मिमि, र महोत्तरीको गौशालामा ५७.६ मिमि वर्षा भएको विभागले जनाएको छ ।
तर, बारा, पर्सा र रौतहटजस्ता तराईका अन्य जिल्लामा भने केवल हल्का मात्र वर्षा भएको छ, जसले रोपाइँमा खासै योगदान पुर्याउन सकेको छैन ।
कृषि तथा मौसम विशेषज्ञहरूका अनुसार बाँकी खेतमा रोपाइँ सम्पन्न गर्नका लागि अझै केही दिन निरन्तर वर्षा आवश्यक छ । यदि आगामी दिनमा पर्याप्त पानी नपरेमा रोपाइँ अझै पछि धकेलिने र यसले खाद्यान्न उत्पादनमा गम्भीर असर पार्ने चेतावनीसमेत दिइएको छ ।
हाल किसान, कृषि कार्यालय र मौसम विभाग सबैको नजर अब आसन्न दिनको मौसममा केन्द्रित छ । वर्षा निरन्तर भएमात्र मधेसका किसानको चिन्ता कम हुने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्