बहुविवाहलाई वैधता दिने प्रस्तावप्रति नेपाल महिला संघको कडा आपत्ति

सरकारलाई चेतावनी: विधेयक फिर्ता नभए आन्दोलन

सम्वादाता | २०८२ सावन १९ गते ०३: २६ मा प्रकाशित
तस्वीर ः साभार

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल महिला संघले बहुविवाहलाई कानुनी मान्यता दिने प्रस्तावित विधेयकलाई गैरजिम्मेवारपूर्ण, महिलाविरोधी र प्रतिगामी भन्दै सरकारलाई तत्काल फिर्ता लिन चेतावनी दिएको छ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियालाई ज्ञापनपत्र बुझाउँदै संघले उक्त विधेयक ऐतिहासिक महिला आन्दोलनका उपलब्धिमाथि ठाडो प्रहार भएको बताएको हो। संघको ठहरमा, “पुरुषको विवाहबाहेकको सम्बन्धलाई कानुनी जामा पहिर्याएर वैधता दिनु अन्यायपूर्ण मात्र होइन, सामाजिक मूल्य र संविधानविपरीत पनि हो।”

संघले स्पष्ट पारेको छ, “एकल महिला र उनीहरूका सन्तानको अधिकारको संरक्षण गर्नु राज्यको दायित्व हो, तर यसको समाधान बहुविवाहलाई वैधता दिनु हुँदै होइन। सामाजिक अपराधलाई प्रोत्साहन दिने प्रयास कुनै पनि हालतमा स्वीकार्य छैन।”

विज्ञप्तिमा भनिएको छ, “कुनै पनि बहानामा बहुविवाह पुनःस्थापना गर्नु नेपाली महिलामाथि गम्भीर अन्याय र दशकौँ लामो समानता संघर्षमाथि धोका हुनेछ।”

संघले सरकारलाई महिलाविरोधी र गलत मनसायले प्रेरित उक्त विधेयक तुरुन्त फिर्ता लिन जोडदार माग गर्दै सबै सरोकारवालासँग संवादमा बस्न आग्रह गरेको छ। “समानताको आधारभूत सिद्धान्तमा सम्झौता नगरी समावेशी, समतामूलक र न्यायपूर्ण समाधान खोजिनुपर्छ,” ज्ञापनपत्रमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्