एनआई कलेजमा विज्ञान प्रविधि प्रदर्शनी सम्पन्न

विद्यार्थीको सिर्जनशीलताको उत्कृष्ट प्रदर्शन

सम्वादाता | २०८२ सावन १९ गते ०४: ४४ मा प्रकाशित

वीरगञ्ज l वीरगञ्ज महानगरपालिका–१५ स्थित नेशनल इन्फोटेक (एनआई) कलेजमा विज्ञान तथा प्रविधि प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ। कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले निर्माण गरेका विविध वैज्ञानिक उपकरण र नवप्रवर्तनात्मक परियोजनाहरूले प्रदर्शनीलाई आकर्षक बनाएका थिए।

कलेज परिसरमै आयोजित उक्त कार्यक्रमको उद्घाटन वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, "आजको युग सूचना प्रविधिको हो। सिकाइ र प्रयोगको संयोजनले असम्भव जस्ता लाग्ने कामहरू पनि सम्भव भएका छन्। यस्ता प्रदर्शनीहरूले विद्यार्थीहरूमा प्रयोगात्मक शिक्षाको विकास गर्छ।"

प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका हवाईजहाज, ड्रोन, रोबोट, सौर्य ऊर्जा प्रणाली, स्वचालित माटो परीक्षण यन्त्र, वायुप्रदूषण मापन यन्त्र, हरितगृह प्रविधि र कृषि उपकरणहरू विशेष आकर्षण बने। उनीहरूले वैकल्पिक ऊर्जा स्रोतको प्रयोग, स्मार्ट कृषि प्रविधिको प्रयोग र ड्रोनमार्फत गरिने कार्यहरूको व्यावहारिक प्रस्तुति दिएका थिए।

कार्यक्रम कलेजका निर्देशक मनिष सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा युवा समाजसेवी एवं कलेजका ईसीए डाइरेक्टर सुधिर पटेल, मुनलाइट स्कुलका सञ्चालक श्याम केसी, गौतम स्कुलका प्रतिनिधि रमेश शर्मा, एलभिन रेन्जर सर लगायत शिक्षाक्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रदर्शनीमा वीरगञ्ज र कलैयाका विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी अतिथिहरूले विद्यार्थीहरूको प्रविधिमैत्री सोच, सिर्जनात्मक क्षमता र प्रयोगात्मक प्रस्तुति हेरेर प्रशंसा व्यक्त गरे।

ईसीए डाइरेक्टर सुधिर पटेलले प्रदर्शनीले विद्यार्थीहरूमा आत्मविश्वास, नवप्रवर्तनशील सोच र नेतृत्व क्षमताको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

शैक्षिक नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रदर्शनीले विद्यार्थीहरूमा व्यवहारिक सिकाइप्रति आकर्षण बढाएको आयोजकहरूको भनाइ छ। कलेजले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्