वीरगञ्जमा "एक घर, एक बिरुवा" अभियान अन्तर्गत निशुल्क फलफूलका बिरुवा वितरण

५ हजार बिरुवा वितरणको लक्ष्य, महानगर प्रमुख सिंह आफैं सहभागी

सम्वादाता | २०८२ सावन २२ गते १२: ५० मा प्रकाशित

प्रकाश तिवारी
वीरगञ्ज l वातावरणीय सन्तुलन कायम राख्ने र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वीरगञ्ज महानगरपालिकाले सुरु गरेको “एक घर, एक बिरुवा” अभियान अन्तर्गत बुधबार निशुल्क फलफूलका बिरुवाहरू वितरण गरिएको छ।

वीरगञ्जको घण्टाघर चोकमा आयोजित सार्वजनिक कार्यक्रममा स्वयं महानगर प्रमुख राजेशमान सिंहको सहभागिता रहँदा कार्यक्रम थप आकर्षक र प्रेरणादायक बनेको थियो। प्रमुख सिंहले स्थानीयवासीलाई आफ्नै हातबाट बिरुवा वितरण गर्दै हरित शहर निर्माणमा सबैलाई सहभागी हुन आह्वान गर्नुभयो।

कार्यक्रममा आँप, लिच्ची, कागती, अनार, अम्बा र बेल लगायतका लोकप्रिय फलफूलका बिरुवाहरू वितरण गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख सिंहले भने, “हरियालीले शहरलाई स्वस्थ बनाउँछ। यदि प्रत्येक घरको आँगनमा एउटा बिरुवा रोप्न सकियो भने हामीले वातावरणीय सन्तुलनमा ठूलो योगदान दिन सक्छौं। सहरी विकाससँगै अब हरित विकास पनि हाम्रो प्राथमिकता हो।”

महानगरको कृषि शाखा प्रमुख रोशनी यादवका अनुसार, अभियान अन्तर्गत करिब ५ हजार बिरुवा वितरण गर्ने लक्ष्य राखिएको छ। प्रारम्भिक चरणमा घण्टाघर चोकबाट सुरुवात गरिएको यो अभियान क्रमशः विभिन्न वडामा विस्तार गरिने छ।

महानगरपालिकाले सार्वजनिक स्थल, विद्यालय, धार्मिक स्थल र इच्छुक व्यक्तिहरूलाई निःशुल्क रूपमा बिरुवा उपलब्ध गराउने व्यवस्था मिलाएको छ। वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको यो अभियानलाई स्थानीयवासीले सकारात्मक रूपमा स्वागत गरेका छन्।

एक स्थानीय नागरिकको भनाइमा, “आज हामीले महानगरबाट पाएको यो बिरुवा केवल फलफूलको लागि मात्र होइन, यो हरित भविष्यको संकेत पनि हो।”

वीरगञ्ज महानगरपालिकाले पछिल्ला वर्षहरूमा सरसफाइ, वृक्षारोपण, स्मार्ट ट्राफिक लगायतका अभियानहरू चलाउँदै आएको छ। “एक घर, एक बिरुवा” अभियानले ति सबै प्रयासहरूलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्