सडकमा चालकको निद हराम, ट्राफिक प्रहरीको स्वार्थलाई सलाम

भ्रष्टाचार ऐन मुनि अपराध: ट्राफिकको रात्री अवैध असुली खुलासा

सम्वादाता | २०८२ सावन २२ गते ०१: ५० मा प्रकाशित
तस्वीर: फाईल
प्रकाश तिवारी
बीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साको कर्तुत एकपछि अर्को बाहिर आउन थालेको छ । विविध सकारात्मक पहलका कारण चर्चा बटुलिरहेको बेला अवैध रकम उठाएको समाचार आए लगत्तै यस कार्यालयको एउटा अर्को गतिविधीले ट्राफिक कार्यालय अहिले पुनः आलोचनाको घेरामा परेको छ ।
सुख्खा बन्दरगाह तथा आईसिपीबाट नेपालका लागि आउने मालवाहक ट्रकहरुबाट अवैध असुली गरिरहेको ट्राफिक प्रहरीले अबेर राती भारतीय ट्रक चालकहरुलाई तर्साउने र पैसा असुल्ने धन्दाको पर्दाफास भएको छ ।
प्राप्त जानकारी अनुसार भन्सारबाट ढिंलो जांचपास भई निस्केका ट्रक चालकहरु सुरक्षा दृष्टिकोणले आईसिपी अगाडीको बाटोमा गाडी पार्क गरी रात बिताउने गर्दछन् । राती १० बजे पश्चात आईसिपीको गेट बन्द भई मालवाहक सवारीसाधनको आवागमन कम भएको बेला अन्तिम समयमा निस्कने कतिपय चालकहरु छेउमा रहेका होटेलहरुमा खाना खाने र सुरक्षाको दृष्टिकोणले रात त्यही बिताउने गर्दछन् । यही बेला त्यहां सुख्खा बन्दरगाह अगाडी ड्यूटीमा रहेका ट्राफिक प्रहरीहरुको आगमन हुन्छ । सुतिरहेका चालकलाई लठ्ठीले हिर्काएर, हप्काएर उठाउने र कागजात चेक गर्ने भनि कागजात माग गरिन्छ । कागजपत्र लिईसकेपछि चालकलाई त्यहांबाट आफ्नो गन्तव्य लाग्न निर्देशन दिईन्छ । राति बाटो अन्जान भएर जान कठिन भएकोले त्यहां रात बिताउन रुकेको बाध्यता बताउंदा ट्राफिक प्रहरीले तिनको कागजपत्र लिएर हिंड्ने गरेका छन् । कारण, रात पछि आफ्नो ड्यूटि परिवर्तन हुने र ट्राफिक बिट सम्म नपुगेका मालवाहक सवारीबाट पैसा उठाउन छुट्ने भनि आफ्नो “टारगेट” पुरा गर्नका लागि प्रहरीले त्यस्तो हर्कत गरेको एक स्थानीय बताउंछन् ।
आईसिपीबाट मालबस्तु लिएर गन्तव्य तर्फ जाने क्रममा सुख्खा बन्दरगाह अगाडी रहेको ट्राफिक बिटमा खटिएका प्रहरीले कागजात चेकजांचको बहानामा चालकहरुबाट अवैध रकम असुल गर्ने र असुल हुन छुटेकाहरुलाई “कागज चेकजाँच” को नाममा रातको समयमा चरन क्षेत्रबाट गोठमा नगएका बाख्राझैँ हाकेर लग्ने जस्तो व्यवहार गरिरहेको देखिन्छ । 
होटेलमा खाना खाएर आराम गरिरहेका चालकहरुलाई आफ्नो स्वार्थका लागि अनावश्यक दुख दिने कुरा मानविय दृष्टिले समेत सही ठहर्दैन । ट्राफिकको यसखाले हर्कतले स्थानीय होटेल व्यवसायीलाई समेत नोक्सानी हुनेगरेको आईसीपी अगाडी रहेका कैयौ होटेलहरु गुनासो गर्दछन् । रातको समयमा आउने चालकहरुबाट आम्दानि हुने भनि खाजा–खानाको व्यवसाय गरी बसेका होटेल कारोबारीहरुले ट्राफिक प्रहरीको ज्यादती देखेर पनि आफुहरु चुप लाग्नुपर्ने बाध्यता रहेको बताउंछन् । राती आराम गरिरहेका चालकहरुसंग गाडी लगायत भन्सारका कागजात लिएर दुख दिने कार्य निन्दनिय रहेको उनिहरुको गुनासो छ ।
यसबारे जानकारी भएपनि ट्राफिक प्रमुख लोकराज भट्टले यसबारे निराशाजनक जवाफ दिन्छन् । जिल्लाको जिम्मेवार पदमा रहेको व्यक्तिले आफ्नो मातहतका कर्मचारीका कारण संगठन नै बद्नाम हुनेगरी भईरहेको कृयाकलापलाई निरुत्साहित गर्नुको सट्टा “हेरौं र बसौं” जस्तो कार्यले उनिमाथि समेत शंका उत्पन्न हुन्छ । यसले आफू मातहतका कर्मचारीका कार्यप्रति उदासीनता देखाउँछ र नेतृत्व क्षमतामाथि प्रश्न उठाउँछ ।
नेपालको भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत धारा ३(१) अनुसार, सार्वजनिक पदमा बसेका कर्मचारीले गैरकानुनी लाभ लिएको पाइएमा उनीहरूलाई पदबाट हटाउने, जरिवाना र कैद सजाय गर्न सकिने कानुनी प्रावधान छ ।
 
सार्वजनिक सेवा प्रदायक निकायका रुपमा रहेको ट्राफिक प्रहरीप्रति जनआस्था घट्दै गइरहेको अवस्थामा यस्ता गतिविधि निरुत्साहित गर्नु सरोकारवालाको जिम्मेवारी हो । अन्यथा, कानून र न्यायको नाममा हुने यस्तो अवैध ‘रातको व्यापार’ विस्तारै संस्थागत भ्रष्टाचारमा परिणत हुने खतरा छ । 

प्रतिक्रिया दिनुहोस्