लम्पी स्किनको महामारीः देशभर ८४६ पशुचौपायाको मृत्यु

२७ हजारभन्दा बढी संक्रमित

सम्वादाता | २०८२ सावन २३ गते ११: २० मा प्रकाशित
प्रकाश तिवारी
बीरगञ्ज । देशभर गाईभैँसीलगायतका पशुचौपायामाथि लम्पी स्किन रोगको संक्रमण फैलिँदा हालसम्म ८४६ वटा पशुचौपायाले ज्यान गुमाएका छन् । पशुसेवा विभागका अनुसार यो संक्रामक रोग हालसम्म ६ वटा प्रदेशका २९ जिल्लामा फैलिएको छ भने २७ हजार ४२५ पशुचौपाया संक्रमित भएका छन् ।
विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार लम्पी स्किन रोगको सबैभन्दा बढी प्रभाव कोशी प्रदेशमा देखिएको छ । असार ६ गतेदेखि साउन २० गतेसम्म कोशीका ११ जिल्लामा फैलिएको संक्रमणबाट २२ हजार १२२ पशुचौपाया संक्रमित भएका छन् भने ६३७ पशुचौपायाको मृत्यु भइसकेको छ ।
लम्पी स्किन रोग मधेश प्रदेशका ८ जिल्लामा फैलिएको छ । विभागका अनुसार यहाँ ४ हजार ४९२ पशु संक्रमित भएका छन् भने १७९ पशुचौपायाको मृत्यु भएको छ ।
विभागको विवरणअनुसार लम्पी स्किन वागमती प्रदेशका ५ जिल्लामा, लुम्बिनीका ३ जिल्लामा, गण्डकी र कर्णाली प्रदेशका १-१ जिल्लामा फैलिएको छ भने सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म संक्रमणको पुष्टि भएको छैन ।
प्राप्त जानकारी अनुसार वागमती प्रदेशमा ७९३ संक्रमित रहेको अवस्थामा ३० को मृत्यु भएको छ । लुम्बिनी प्रदेशमा १६ पशुचौपाया संक्रमित छन् । गण्डकी प्रदेशमा ७ चौपाया संक्रमित छन् । कर्णाली प्रदेशमा संक्रमित संख्या खुलाइएको छैन । त्यसैगरी सुदूरपश्चिम प्रदेशमा हालसम्म संक्रमण पुष्टि नभएको अवस्था छ ।
रोग नियन्त्रणका लागि पशुसेवा विभागले सुदूरपश्चिम बाहेक अन्य ६ प्रदेशमा ५ लाख ६१ हजार ७५१ पशुचौपायालाई लम्पी स्किन रोगविरुद्धको खोप लगाइसकेको छ ।
पशुसेवा विभागले किसान तथा पशुपालकहरूलाई सतर्क रहन, संक्रमित पशुको पहिचान गरी तत्काल नजिकको पशुसेवा केन्द्रमा सम्पर्क गर्न आग्रह गरेको छ। विभागले रोग नियन्त्रण तथा रोकथामका लागि खोप अभियानलाई थप प्रभावकारी बनाउन स्थानीय सरकार र सरोकारवाला निकायसँग समन्वय गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्