कांग्रेस-एमालेसहित ४ दलको गठबन्धनसँग एक्लै भिडेको रास्वपा दोब्बर मत अन्तरले विजयी

सम्वादाता | २०८२ सावन २३ गते ११: ४२ मा प्रकाशित
रौतहट । रौतहटको चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट उम्मेदवार उदय नारायण सापकोटा विजयी भएका छन् । उनले नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दल सम्मिलित गठबन्धनका साझा उम्मेदवार सुनिल साहलाई पराजित गर्दै संघको अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री प्रभु साहलगायतका नेताहरूको प्रभाव क्षेत्र मानिने चन्द्रपुरमा भएको यो निर्वाचनलाई निकै चासोपूर्वक हेरिएको थियो ।
सापकोटाले ५ सय २ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी साहले २ सय ६९ मत पाएका थिए । कुल १ हजार ९७ मतदाता मध्ये ८ सय २ जनाले मतदान गरेका थिए । सापकोटा झण्डै दोब्बर मतान्तरले विजयी भएका हुन् ।
रास्वपा अध्यक्ष रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध पार्टीले देशव्यापी रुपमा हस्ताक्षर संकलन अभियान चलाइरहेको बेला आएको यो विजयलाई पार्टीले विशेष उपलब्धिका रूपमा लिएको छ ।
संघको अध्यक्ष बाहेक अन्य सबै पदमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनको सम्पूर्ण प्रक्रिया शान्तिपूर्ण र पारदर्शी रूपमा सम्पन्न भएको निर्वाचन समिति स्रोतले जनाएको छ ।
विजयपश्चात प्रतिक्रिया दिँदै अध्यक्ष सापकोटाले भने, “चन्द्रपुरको पहिचान र यहाँका व्यवसायीहरूको हितका लागि सदैव क्रियाशील रहने छु । उद्योग व्यवसायमैत्री वातावरण बनाउन म मेरो सम्पूर्ण क्षमता लगाउने छु ।”
चन्द्रपुर उद्योग वाणिज्य संघको नेतृत्वमा रास्वपाको प्रभावकारी प्रवेशसँगै स्थानीय व्यवसायी क्षेत्रको राजनीतिक धार पनि परिवर्तन हुने आँकलन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्