जम्मू–कश्मीरको किश्तवाडमा बादल फुट्दा बाढी, उद्धार कार्य तीव्र

सम्वादाता | २०८२ सावन ३० गते ०३: ३१ मा प्रकाशित

काठमाडौं, साउन २९ – जम्मू–कश्मीरको किश्तवाड जिल्लाको चाशोती क्षेत्रमा बिहीबार बिहान बादल फुटेपछि अचानक बाढी आएको छ। बाढीको कारण मचैल माता यात्राको सुरुवाती बिन्दु रहेको उक्त क्षेत्रमा त्रास फैलिएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार, किश्तवाडका उपायुक्त पंकज शर्माले बाढीले ठूलो क्षति पुर्‍याउने सम्भावना रहेको जनाएका छन्। स्थानीय प्रशासनले उद्धार तथा राहत कार्यका लागि सुरक्षा निकायलाई सतर्क अवस्थामा राखेको छ।

जम्मू–कश्मीरका उपराज्यपाल मनोज सिन्हाले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै भने, “किश्तवाडको चाशोतीमा भएको बादल फुटेको घटनाबाट म दुःखी छु। शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु।” उनले नागरिक रक्षा, प्रहरी, सेना, एनडीआरएफ र एसडीआरएफका टोलीलाई तत्काल उद्धार र राहत कार्य तीव्र बनाउन निर्देशन दिएका छन्।

केन्द्रीय राज्यमन्त्री डा. जितेन्द्र सिंहले एक्स (पूर्व ट्विटर) मा लेखेका छन्, “बादल फुट्दा धेरै क्षति हुने सम्भावना छ। प्रशासन सतर्क छ र राहत तथा उद्धार टोली तुरुन्तै पठाइएको छ।” उनका अनुसार, क्षतिको मूल्याङ्कन भइरहेको छ र आवश्यक राहत तथा स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।

यस क्षेत्रका विधायक सुनील कुमार शर्माले पनि ठूलो क्षति हुने आशंका व्यक्त गरेका छन्। उनले भने, “यात्रा अझै जारी रहेकाले त्यहाँ भीड थियो, तर अहिलेसम्म कुनै आधिकारिक तथ्यांक सार्वजनिक भएको छैन।”

प्रतिक्रिया दिनुहोस्