वीरगञ्जमा भारतीय दूतावासद्वारा ७९औँ स्वतन्त्रता दिवस भव्य रूपमा सम्पन्न

सम्वादाता | २०८२ सावन ३१ गते ०२: ३० मा प्रकाशित

प्रकाश तिवारी
बीरगञ्ज । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले आज ७९औँ स्वतन्त्रता दिवस विशेष उत्साहका साथ मनाएको छ। कार्यक्रममा भारतीय महावाणिज्यदूत देवी सहाय मिणाले राष्ट्रिय झण्डा फहराउँदै स्वतन्त्रता संग्राममा बलिदान दिने वीर सपूतप्रति श्रद्धाञ्जली अर्पण गरे।

सम्बोधनका क्रममा मिणाले राष्ट्रिय एकता, स्वतन्त्रताको महत्व र भारत–नेपालबीचको मित्रतापूर्ण सम्बन्धबारे प्रष्ट सन्देश दिए। कार्यक्रममा बालबालिका र स्थानीय कलाकारहरूले देशभक्तिपूर्ण गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुति दिएका थिए, जसले उपस्थितलाई भावुक बनायो।

उत्सवमा वीरगञ्जका भारतीय समुदायसँगै स्थानीय नेपाली नागरिकहरूको पनि उत्साहजनक सहभागिता थियो। पर्सा र बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यार्थी, शिक्षक, व्यापारी तथा समाजसेवीहरूको उपस्थिति उल्लेखनीय रह्यो।

दूतावासका अधिकारीहरूले भारत–नेपालबीचको सदाबहार मित्रता र सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा थप सांस्कृतिक तथा जनस्तरका कार्यक्रम आयोजना गर्ने योजना सार्वजनिक गरे।

यस वर्ष भारतले आफ्नो स्वतन्त्रता दिवसलाई ‘स्वतन्त्रताको अमृत महोत्सव’का रूपमा मनाइरहेको छ, जसले स्वतन्त्रता प्राप्तिको ऐतिहासिक यात्रालाई स्मरण गर्दै नयाँ युगको सुरुवातको संकेत दिन्छ। सन् १९४७ को १५ अगस्टमा बेलायती शासनबाट मुक्त भएको भारतले यो दिनलाई हरेक वर्ष गौरवका साथ मनाउँदै आएको छ। वीरगञ्जको कार्यक्रमले मात्र इतिहासलाई स्मरण गरेन, सीमानाकामा रहेका समुदायबीचको आत्मीय सम्बन्धलाई पनि झन् प्रगाढ बनायो।

प्रतिक्रिया दिनुहोस्