वीरगञ्ज आगजनी घटनामा घाइते महिलाको निधन, गाउँपालिकाबाट क्षतिपूर्ति घोषणा

वीरगञ्ज । भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अनिल रूङ्टाको घरमा भएको आगजनीमा घाइते भएकी एक महिलाको उपचारका क्रममा निधन भएको छ।

पर्सा सखुवाप्रसौनी गाउँपालिका–२ की ४५ वर्षीया शोशिला देवी हजरा आगलागीमा परेर गम्भीर घाइते भएकी थिइन्। रूङ्टाको घरमा काम गर्ने हजराको शरीरको ५० प्रतिशत भाग जलेको थियो। प्रारम्भिक उपचारपछि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजबाट काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएकी उनको असोज ६ गते मृत्यु भएको पर्सा प्रहरीका प्रवक्ता, डिएसपी किशोर लम्सालले जानकारी दिए।

उक्त आगजनीमा भारत बिहार सुगौली निवासी १८ वर्षीय विनय यादव पनि गम्भीर घाइते भएका छन्। उनको शरीरको ९० प्रतिशत भाग जलेको छ। यादवलाई पनि कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि पठाइएको छ र उनको स्वास्थ्यमा सुधार भइरहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

यसैबीच, मृतक शोशिला देवीको परिवारलाई राहतस्वरूप पर्साको सखुवाप्रसौनी गाउँपालिकाले एक लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ। गाउँपालिका अध्यक्ष यसवन्त यादवले श्रद्धाञ्जली अर्पण गर्दै परिवारलाई तत्काल सहयोगको रुपमा रकम उपलब्ध गराइने जनाएका छन्।

“शोशिलाको निधनले हामी मर्माहत छौँ। यो अपूरणीय क्षति हो। परिवारलाई यो दुखद घडीमा सहयोग गर्न गाउँपालिकाले एक लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ,” अध्यक्ष यादवले भने, “हामी थप सहयोगका लागि पनि तत्पर रहनेछौँ।”

शोशिला देवीका पाँच छोरी र एक छोरा छन्। उनका श्रीमान् वैदेशिक रोजगारीबाट केही दिनअघि मात्र स्वदेश फर्किएका थिए।

भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा रूङ्टासहित पूर्व खानेपानी मन्त्री प्रदीप यादव, पूर्व मुख्यमन्त्री लालबाबु राउत, पूर्व कानुन मन्त्री अजय चौरसिया, पूर्व संघीय मामिला मन्त्री राजकुमार गुप्ता, वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहलगायत नेताका घरमा आगजनी र तोडफोड भएको थियो।

प्रतिक्रिया दिनुहोस्