डिएसपी भण्डारी सञ्चारमैत्री नभएको आरोप: व्यापारी र सञ्चारकर्मी दुबै असन्तुष्ट

प्रहरी अधिकारी सूचना प्रवाहमा पक्षपाती

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय परिसरमा व्यापारी र सञ्चारकर्मीबीच असन्तोष बढ्दै गएको छ । व्यापारीहरूले भन्सार परिसरभित्र तैनाथ सशस्त्र प्रहरी बीओपी प्रमुख डिएसपी पुरुषोत्तम भण्डारीका घुमुवा टोलीमार्फत धम्की र असुली हुने गरेको गुनासो गरिरहेका छन् भने, स्थानीय सञ्चारकर्मीहरूले समेत डिएसपी भण्डारी सञ्चारमैत्री नभएको आरोप लगाएका छन् । बीओपी प्रमुख डिएसपी पुरुषोत्तम भण्डारी सञ्चारमैत्री नभएको आरोपले प्रहरी–व्यापारी–सञ्चारबीच त्रिकोणीय अविश्वासलाई झनै गहिरो बनाएको छ ।

जेन–जी आन्दोलनका कारण आयात–निर्यात प्रभावित भइरहेका बेला व्यापारीहरूले आफ्ना सामान गोदामबाट अन्यत्र लैजाँदा घुमुवा टोलीले बाटोमै रोकावट गर्दै रकम असुल्न खोज्ने गरेको बताइन्छ । रकमको कुरा नमिलेमा डिएसपी भण्डारी स्वयंले गाडी सहित नियन्त्रणमा लिएर भन्सार परिसरस्थित सशस्त्र गुल्ममा पुर्याई सक्कली कागजात हुंदा पनि चेकजाँचको नाममा भन्सार बुझाउने गरेको व्यापारीहरुको आरोप छ । व्यापारीहरुले यस्तो कार्यले आफ्नो लगानीमा थप घाटा पुगेको भन्दै असन्तोष व्यक्त गरेका छन् । यस विषयमा भण्डारीले सञ्चारकर्मीलाई सूचना दिन आलटाल गरेको समाचार समेत आइसकेको छ ।

सञ्चारमाध्यमका प्रतिनिधिहरूले भने डिएसपी भण्डारी सूचना प्रवाहमा निष्पक्ष र पारदर्शी नभएको दाबी गरेका छन् । भण्डारीले सूचना माग्दा टार्ने, फोन गर्दा मोबाइल स्विच अफ गर्ने, तर आफ्ना नजिकका केही आसेपासे पत्रकारलाई मात्र बोलाएर ‘विशेष समाचार’ दिने गरेको उनीहरूको आरोप छ । यसले स्थानीय सञ्चारकर्मीलाई आश्चर्यचकित तुल्याएको छ ।

हिजो मात्रै भन्सार परिसरमा तैनाथ सशस्त्र प्रहरीले एउटा भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको थियो । हुन्डीसम्बन्धी रकम हुनसक्ने आशंकामा मोटरसाइकलबाट लाखौं नगद बरामद भएको बताइए पनि उक्त घटनाबारे सम्पूर्ण सञ्चारकर्मीलाई जानकारी नदिइ केहीलाई मात्र जानकारी दिइएको थियो । यसरी सूचना प्रवाहमा भेदभाव देखाउँदा घटनाको पारदर्शिता नै प्रश्नमा परेको छ ।

दैनिक लाखौं मूल्यका सामान नियन्त्रणमा लिएर भन्सार बुझाउने प्रक्रियामा पनि व्यापारी र सर्वसाधारणले शंका व्यक्त गरेका छन् । नियन्त्रणदेखि भन्सार बुझाउने प्रक्रियासम्म सञ्चारमाध्यमलाई पर्याप्त जानकारी नदिनु, आन्तरिक रूपमा समाचारलाई ‘चयनात्मक’ ढंगले बाहिर पठाउनु र घुमुवामार्फत असुली हुने गरेको आरोपले व्यापारी मात्र होइन, स्थानीय नागरिक पनि असन्तुष्ट बनेका छन् ।

विगतमा भन्सारमै सशस्त्र प्रहरीमाथि व्यापारीलाई धम्की दिएको आरोप लाग्दा छानबिन समिति समेत गठन भएको थियो । सञ्चारकर्मीहरूमाथि सूचना नदिने वा ‘पक्षपातपूर्ण सूचना वितरण’ गर्ने प्रवृत्ति भने नयाँ होइन, वर्तमानमा पनि त्यस्तै विवाद सतहमा आइरहेका छन् ।

सञ्चारमैत्री बन्नुपर्ने जिम्मेवारी बोकेका प्रहरी अधिकारी सूचना प्रवाहमा पक्षपातपूर्ण र अटेरी देखिनु, पारदर्शितामा कमी हुनु, र व्यापारीमाथि धम्कीपूर्ण शैली अपनाइनुले वीरगञ्जको व्यावसायिक वातावरण नै अशान्त भएको छ । व्यापारी र सञ्चारकर्मी दुबैलाई असन्तुष्ट पार्ने डिएसपी भण्डारीको रवैयाले प्रहरी प्रशासनप्रति सर्वसाधारणको विश्वास घट्ने खतरा बढेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्