दुधेश्वर महादेव भाठाबाबा मेलाको ३४ लाख आम्दानी, समितिलाई भुक्तानी नआएपछि ऋणको समस्या

 

पर्सा l पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुधेश्वर महादेव मन्दिर भाठाबाबा परिसरमा २०८२ साल साउनमा आयोजना गरिएको एक महिने मेलाको आम्दानी–खर्च विवरण सार्वजनिक गरिएको छ।

गाउँपालिका–२ बेलवा मन्दिरको प्राङ्गणमा सम्पन्न कार्यक्रममा मेला निर्माण समिति अध्यक्ष अलखदेव प्रसाद थारुको अध्यक्षता तथा वरिष्ठ सल्लाहकार द्वारिका प्रसाद उपाध्यायको सञ्चालनमा आर्थिक प्रतिवेदन सचिव राजिन्द्र बिष्टले प्रस्तुत गरे।

३४ लाख आम्दानी, २७ लाख खर्च

प्रतिवेदनअनुसार मेलाबाट जम्मा ३४ लाख १० हजार ८८० रुपैयाँ आम्दानी भएको छ भने २७ लाख ६५ हजार १९५ रुपैयाँ खर्च भएको छ। यसरी मेलाबाट ६ लाख ४५ हजार ६८५ रुपैयाँ नाफा भएको समितिले जानकारी दिएको छ।

खर्च विवरणअनुसार मेलाको व्यवस्थापनमा मात्रै १३ लाख ४६ हजार १९५ रुपैयाँ खर्च भएको छ भने सौन्दर्यकरणलगायत विभिन्न काममा १४ लाख ९ हजार रुपैयाँ खर्च भएको उल्लेख छ।

निर्माण समिति ऋणमा

समितिले सार्वजनिक गरेको जानकारीअनुसार पर्यटन विकास मन्त्रालयमार्फत ४० लाख बराबरको योजना स्वीकृत भए पनि प्रदेश सरकार र पर्यटन विकास कार्यालय, पर्साबाट भुक्तानी रोकिनुका कारण निर्माण समिति ऋणमा डुब्न पुगेको छ।

मेलाको अवसरमा रेलिङ, सिडी ढलान, चौतारा लगायत संरचना निर्माण भए पनि अझै भुक्तानी नआउँदा थप समस्या भएको समितिको भनाइ छ।

पारदर्शी प्रतिवेदनको सराहना

कार्यक्रममा मेला समिति अध्यक्ष गेनालाल राउत कुर्मी, उपाध्यक्ष रामचन्द्र महतो, कोषाध्यक्ष रामेश्वर राउत, सचिव राजेन्द्र बिष्ट लगायत गाउँ समाजका अगुवा तथा विभिन्न पालिकाका प्रतिनिधिहरूको उपस्थिति थियो।

गाउँपालिका अध्यक्ष दिनेश चौधरीले मेलाले धार्मिक, सांस्कृतिक र सामाजिक एकतालाई मजबुत बनाउन ठूलो योगदान दिएको भन्दै यसलाई पर्यटनसँग जोड्न सकिने सम्भावना प्रस्ट पारे। समितिको पारदर्शी प्रतिवेदन सराहनीय भएको उल्लेख गर्दै उनले आर्थिक संकट समाधानका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारबीच सहकार्य आवश्यक रहेको धारणा राखे।

प्रतिक्रिया दिनुहोस्