वीरगंजमा अवैध गतिविधि मौलिँदा समाज र सुरक्षामा प्रश्न

जिल्ला प्रहरी कार्यालय पर्सा

वीरगंज । देशकै प्रमुख वाणिज्यिक नाकामध्ये एक मानिने वीरगंज हाल दशैं–तिहारको चहलपहलले रंगिएको छ । बजारमा भीडभाड, पसलमा ग्राहकको ओइरो, रात्रि समयमा चहलपहल सामान्यभन्दा बढी भएको छ । तर, यही अवसरलाई प्रयोग गर्दै पछिल्ला दिनमा यहाँ अवैध गतिविधि मौलाउँदै गएको गुनासो तीव्र बनेको छ ।

बसपार्क, बाइपास सडक, सिर्सिया खोला, रामगढवा, बहुअरी चौक र घण्टाघर आसपास क्षेत्रमा तेस्रोलिंगी र यौनकर्मीहरूको संख्यात्मक उपस्थिति बढ्दो छ । स्थानीयवासीका अनुसार राति ८ बजेपछि ती समूहले बाटोमा बटुवाहरूसँग अभद्र व्यवहार गर्ने, झगडा गर्ने, धम्की दिने र कतिपय अवस्थामा पैसा लुट्ने गरेका छन् । कतिपय घटनामा ग्राहकलाई होटलमा लगेर ठगी गर्ने र हिंसात्मक व्यवहारसमेत गर्ने गरेको उजुरी प्रहरीले पाएको छ ।

तर, यस्ता उजुरीहरूमाथि पर्सा प्रहरी प्रशासन मौन बसिरहेको आरोप स्थानीयले लगाएका छन् । प्रहरीकै मिलोमतोमा अवैध यौनधन्दा र आपराधिक गतिविधि खुलेआम भइरहेको दाबी गरिँदै आएको छ । यसरी प्रहरी प्रशासनको प्रत्यक्ष या अप्रत्यक्ष संलग्नतामा गतिविधि मौलाउँदा अपराधी समूह निर्भीक बनेको र कानूनको शासन कमजोर भएको नागरिकको आरोप छ ।

सामाजिक विज्ञहरूका अनुसार यस्ता गतिविधिले समाजमा गहिरो नकारात्मक असर पारिरहेको छ । युवापुस्तामा अपराधप्रतिको आकर्षण बढ्ने, यौनजन्य अपराध बढ्ने, सडकमा हिंसात्मक गतिविधि मौलाउने र स्थानीय बासिन्दाले असुरक्षाको अनुभव गर्ने अवस्था सिर्जना भएको छ । यसले वीरगंजको सामाजिक सद्भाव र सांस्कृतिक मूल्य–मान्यतालाई समेत कमजोर पार्ने खतरा रहेको उनीहरूको चेतावनी छ ।

प्रहरी प्रशासनले चाडबाडमा सुरक्षाको कारण देखाउँदै राति ९ बजेपछि पसल बन्द गर्ने र १० बजेपछि बजार नै बन्द गर्ने नियम लागू गरेको छ । यस निर्णयले व्यापारीहरूलाई आर्थिक रुपमा ठूलो भार परेको छ । विशेषगरी दशैं–तिहारकै समयमा बढी व्यापार हुने भएकाले उनीहरूले कम्तीमा राति ११ बजेसम्म व्यापार गर्न पाउने व्यवस्था गर्न माग गरेका छन् । व्यापारीहरूको भनाइमा प्रहरीको कडाइले अपराध नियन्त्रण नभई वैध व्यवसाय नै ठप्प पारिरहेको छ ।

कबाडी कर असुलीमा समेत अनियमितता भएको भन्दै प्रहरी प्रशासनमाथि थप आलोचना भएको छ । कबाडी करको नाममा आइसिपी गेट अगाडी, गण्डक चौक लगायत महानगरका विभिन्न ठाउंमा ठड्याइएका ढाठहरुले भारतीय चालकहरुसंग जबरजस्ती अवैध असुली गरिरहेका छन् । यहांबाट समेत प्रहरी–प्रशासनले मोटो नजराना लिने गरेको आरोप छ ।

पर्सामा हालै मात्र पदस्थापना भएका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले गुनासाहरूलाई गम्भीरतापूर्वक लिने बताएका छन् । यसप्रकारका घटनाबारे जानकारी पाएर प्रहरीले वीरगञ्जका क्यासिनोहरुमा अनुगमन समेत गरेको पर्सा प्रहरीका प्रवक्ताले जनाएका छन् । तर यस्ता फितलो अनुगमन अपर्याप्त रहेको आम बुझाई छ । प्रहरी उपरिक्षकले व्यापारीले उठाएका गुनासामाथि समेत ध्यान दिने र अपराध नियन्त्रणमा कुनै सम्झौता नगर्ने अठोट व्यक्त गरेका छन् ।

विशेषज्ञहरूको भनाइमा यस्ता समस्या समाधान गर्न केवल प्रहरी प्रशासनको सक्रियता मात्र होइन, राज्यको दीर्घकालीन रणनीति अपरिहार्य हुन्छ । वैकल्पिक रोजगारी सिर्जना, जनचेतना अभियान, र कानूनी कार्यान्वयनमा पारदर्शिता ल्याउन सके मात्र वीरगंजजस्ता सीमावर्ती सहरहरूमा अवैध गतिविधि रोकथाम सम्भव हुन्छ ।

दशैंको रमाइलो वातावरणबीच वीरगंजमा मौलाउँदै गएको अवैध धन्दा, प्रहरी प्रशासनमाथि उठेका प्रश्न र राज्यको कमजोर हस्तक्षेपले यहाँको शान्ति–सुरक्षा र सामाजिक संरचना नै प्रभावित भएको छ । अब प्रहरी प्रशासनले निष्पक्ष र कडाइका साथ काम गर्ने मात्र नभई, राज्यले दीर्घकालीन नीति बनाएर सामाजिक मूल्य–मान्यता र नागरिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने आवश्यकता तीव्र बनेको छ ।

प्रतिक्रिया दिनुहोस्