सिम्रौनगढमा किसानहरूको आन्दोलन घोषणा

राहत वितरणमा ढिलाइप्रति आक्रोश

सिम्रौनगढ, बारा — सिम्रौनगढ नगरपालिकाविरुद्ध यहाँका किसानहरूले भोलि आइतवारदेखि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्। असिनापानीबाट बाली नष्ट भएर क्षतिग्रस्त बनेका किसानहरूलाई राहत वितरणमा नगरपालिकाले ढिलाइ गरेको भन्दै नेपाल किसान सङ्घले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो।

गत वैशाख १४ गतेको असिनापानीका कारण सिम्रौनगढ नगरपालिका–१ र ७ का सयौँ किसानका बालीमा ठूलो क्षति पुगेको थियो। त्यसबेलै किसान सङ्घ र नगरपालिकाबीच भएको सम्झौता अनुसार प्रतिकट्ठा प्रतिकिसान पाँच हजार रुपैयाँ नगद राहत दिने निर्णय गरिएको थियो। नगरपालिकाको बैठक र नगरसभाले राहत वितरण साउन १५ गतेभित्र सम्पन्न गर्ने निर्णय पनि गरेको थियो।

तर, पाँच महिना बितिसक्दा पनि राहत नपाएको भन्दै किसानहरू निराश र आक्रोशित बनेका छन्। किसान सङ्घले आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण रहने जनाएको छ र यसबारे इलाका प्रहरी कार्यालय सिम्रौनगढलाई पनि औपचारिक जानकारी दिएको छ।

सम्झौता उल्लङ्घन र दोहोरो क्षति

किसानहरूका अनुसार, सम्झौता कार्यान्वयनमा ढिलाइ हुँदा उनीहरूलाई थप क्षति बेहोर्नु परेको छ। गत असोज १८ गते आएको मुसलधारे वर्षाबाट पनि करोडौँ मूल्यबराबरका बाली पुनः नष्ट भए तर राहत नपाउने निश्चितताका कारण किसानहरूले यसपटक राहत माग गरेका छैनन्।

त्यसपछि पनि अहिले मोन्था चक्रवातको असरले लगातार वर्षा जारी रहँदा सिम्रौनगढका धान र हरिया तरकारीबाली पुनः प्रभावित भएका छन्।

कृषि बीमा र नीतिगत कमजोरी

स्थानीय किसानहरूको गुनासो छ — नगरपालिकाले किसानहरूलाई कृषि बीमाको प्रवर्द्धन गर्न कुनै पहल नगरेकाले वर्षेनी प्राकृतिक विपत्तिबाट क्षति व्यहोर्न बाध्य हुनुपरेको छ। “नगरपालिकाले बीमाका बारेमा सचेतना नदिँदा हरेक वर्ष हामी ऋणमै डुब्छौं,” किसान सङ्घका एक प्रतिनिधिले बताए।

स्थानीय सरोकारवालाहरूका अनुसार, नगरपालिकाले तत्काल राहत वितरणको प्रक्रिया सुरु नगरे आन्दोलन कसरी र कहाँसम्म जाने भन्नेबारे थप निर्णय गरिनेछ।

यसबीच, नगरपालिकाका अधिकारीहरूले भने राहत वितरणमा ढिलाइ बजेट स्वीकृति र प्रक्रिया झन्झटका कारण भएको जनाएका छन्। तर किसानहरूले यो स्पष्टीकरण अस्वीकार गर्दै आजदेखि सडकमा उत्रिने तयारी पूरा गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्