जिएचपी माध्यमिक विद्यालय पुनः विवादमा

बालबालिकालाई परीक्षाबाट वञ्चित गराएपछि अभिभावक र स्थानीयवासी असन्तुष्ट

वीरगंज । वीरगंजस्थित जिएचपी माध्यमिक विद्यालय पुनः विवादमा तानिएको छ।विद्यालयले एकै परिवारका तीन बालबालिकालाई त्रैमासिक परीक्षाबाट वञ्चित गराएपछि अभिभावक र स्थानीयवासी असन्तुष्ट बनेका छन्।
 वीरगंज–२३ प्रसौनीबिर्ता निवासी यादव परिवारका आरभ यादव र युवराज यादव (कक्षा ६) तथा आस्था यादव (कक्षा २) विद्यालयको त्रैमासिक परीक्षाबाट वञ्चित भएका हुन्।अभिभावकका अनुसार विद्यालयले बक्यौता शुल्कको कारण देखाउँदै उनीहरूलाई परीक्षा दिन नदिएको हो।
 अभिभावकले गत असोज अन्त्यतिर वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखामा लिखित उजूरी दिएका थिए।त्यसपछि महाशाखाले असोज २६ गते विद्यालयलाई तीन दिनभित्र जवाफ पेश गर्न निर्देशनसहितको पत्र पठाएको थियो।तर विद्यालयले उक्त निर्देशनको पालना नगरेपछि महाशाखाले कात्तिक १६ गते दोस्रोपटक पत्र पठाएको अभिभावकले बताएका छन्।
 अभिभावकका अनुसार तीन बालबालिकाको करिब रु. ७२ हजार शुल्क बाँकी रहेको र आफूले तिर्ने तयारी जनाए पनि विद्यालयले परीक्षामा सहभागी हुन नदिई उल्टै विद्यालय सुरक्षाकर्मीमार्फत घर पठाएको छ।
 “अहिले देशकै आर्थिक अवस्था कमजोर छ।मेरो पैसा फसेको छ, आएपछि तिर्छु भने पनि विद्यालयले मानेन।यस्तो व्यवहारले मेरो परिवारको मानप्रतिष्ठामा आघात पुगेको छ र बच्चाहरूको मानसिक अवस्था बिग्रिएको छ,” अभिभावकले दुखेसो पोखे।
 यस विषयमा विद्यालयकी सञ्चालिका रमिन्दर कौरले तीनजना बालबालिकाको करिब रु. १ लाखभन्दा बढी शुल्क बक्यौता रहेको स्वीकार गर्दै विद्यालयको खर्च धान्न नसकेर यस्तो कदम चालिएको बताइन्।
 “विद्यालय नाफाका लागि होइन, सञ्चालनका लागि शुल्कमा निर्भर छ।अहिले पनि बच्चा आयो भने पढाइ गराइनेछ, परीक्षा पुनः लिन पनि तयार छौं,” उनले भनिन्।
 उनले अभिभावकमा शुल्क तिर्न दबाब सिर्जना गर्नका लागि यस्तो निर्णय लिइएको तर बालबालिकाको पढाइमा अवरोध नहुने समेत कौरले बताइन्।
 जिएचपी मावि यसअघि पनि शुल्क असुली, शिक्षक व्यवस्थापन र विद्यार्थीमाथिको व्यवहार सम्बन्धी विवादमा तानिएको थियो।केही वर्षअघि विद्यालयले अभिभावकसँग अनावश्यक शुल्क असुली र विद्यार्थीलाई कक्षा बाहिर निकाल्ने घटनामा महानगरबाट चेतावनी पाएको थियो।
 शैक्षिक सरोकारवालाहरूले विद्यालयको यस्तो शुल्क–केन्द्रित नीति र बालमनोविज्ञानप्रति बेवास्ता गर्ने प्रवृत्तिले निजी विद्यालयप्रतिको विश्वास कमजोर भएको टिप्पणी गरेका छन्।
 वीरगंज महानगरको शैक्षिक प्रशासन महाशाखाले यस घटनामा छानबिन अघि बढाइएको र विद्यालयसँग पुनः लिखित स्पष्टीकरण मागिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्