पर्सा प्रहरीको पहिलो मनी लाउन्डरिङ मुद्दा

हुण्डीदेखि क्रिप्टोकरेन्सीसम्म अनुसन्धानको दायरामा, अर्बौंको शङ्कास्पद कारोबार खुल्यो

एआईको सहयोगबाट तयार पारिएको सांकेतिक तस्वीर

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले आफ्नो इतिहासमै पहिलोपटक सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दा दर्ता गर्दै अवैध वित्तीय कारोबारविरुद्ध व्यापक अनुसन्धान थालेको छ। हुण्डी, दोहोरो नागरिकता, क्रिप्टोकरेन्सी तथा स्रोत नखुलेका ठूला बैंकिङ कारोबारमा संलग्न आधा दर्जनभन्दा बढी व्यक्तिविरुद्ध अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार यस प्रकरणमा दुई जना अभियुक्तलाई जिल्ला अदालत, पर्साले पुर्पक्षका लागि कारागार पठाइसकेको छ भने अन्य व्यक्तिविरुद्ध पनि मुद्दा दर्ता गरी अनुसन्धान जारी रहेको छ। नेपाल एफएटीएफको ग्रे–लिस्टमा परेपछि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरको अनुसन्धान गर्ने अधिकार जिल्ला प्रहरी कार्यालयहरूलाई समेत दिइएपछि पर्सामा पहिलोपटक यस्तो मुद्दा दर्ता भएको हो।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकका अनुसार विभिन्न अपराधमा पक्राउ परेका व्यक्तिहरूको अनुसन्धानका क्रममा अस्वाभाविक वित्तीय कारोबार देखिएपछि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अघि बढाइएको हो। उनका अनुसार हुण्डी, लागूऔषध, दोहोरो नागरिकता र क्रिप्टोकरेन्सी कारोबारसँग सम्बन्धित आर्थिक गतिविधिमाथि विशेष निगरानी केन्द्रित गरिएको छ।

हुण्डी कारोबारबाट खुल्यो अर्बौंको अवैध वित्तीय सञ्जाल

प्रहरीका अनुसार २०८२ पुस १७ गते वीरगञ्ज महानगरपालिका–४ बिर्ताबाट पक्राउ परेका वीरगञ्ज–१ निवासी ३२ वर्षीय प्रशान्तकुमार गुप्ताको साथबाट ५० हजार रुपैयाँ नगद, विभिन्न बैंकका चेकबुक र ठूलो परिमाणमा बैंक भौचर बरामद भएपछि अनुसन्धान शुरु भएको थियो।

अनुसन्धानका क्रममा ती कागजातहरू हुण्डी कारोबारसँग प्रत्यक्ष सम्बन्धित रहेको खुलेको प्रहरीको दाबी छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र मल्लका अनुसार प्रशान्तकुमार गुप्ता, नसीर मियाँ अन्सारी, रामनिवासप्रसाद कलवार तथा फरार रहेका अन्य व्यक्तिहरूले भारतको रक्सौलबाट हुण्डीमार्फत नेपालमा रकम भित्र्याई विभिन्न बैंक खातामा जम्मा गर्ने, त्यसपछि चेक, फोन–पे तथा अन्य डिजिटल माध्यमबाट रकम स्थानान्तरण गरी रकमको वास्तविक स्रोत लुकाउने गरेको अनुसन्धानबाट खुलेको छ।

हालसम्म उनीहरूसँग सम्बन्धित दुई अर्ब ४१ करोड ७८ लाख २३ हजार ३७८ रुपैयाँ बराबरको अवैध हुण्डी कारोबार भएको प्रमाण फेला परेको प्रहरीले जनाएको छ। उनीहरूमाथि हुण्डी कारोबार, सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ तथा सङ्गठित अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको छ। पर्सा जिल्ला अदालतले २०८२ माघ २८ गते उनीहरूलाई पुर्पक्षका लागि कारागार पठाएको छ।

एउटै व्यक्तिको नेपाली र भारतीय पहिचान

प्रहरीको अर्को अनुसन्धानमा जटाशङ्कर जायसवालले नेपाली र भारतीय दुवै देशका परिचयपत्र प्रयोग गरेको तथ्य खुलेको छ।

प्रहरीका अनुसार उनले २०६३ सालमा जिल्ला प्रशासन कार्यालय, पर्साबाट नेपाली नागरिकता लिएपछि २०६५ सालमा भारतीय दूतावासमार्फत भारतको बिहार राज्यको स्थायी बासिन्दाका रूपमा भारतीय परिचयपत्रसमेत प्राप्त गरेका थिए।

यही दोहोरो पहिचान प्रयोग गर्दै उनले बाबा बैधनाथ सप्लायर्स, पशुपतिनाथ इन्टरप्राइजेज र नवदुर्गा ट्रेडर्स लगायतका व्यवसायका नाममा बैंक खाता सञ्चालन गरी ४९ करोड ८४ लाख ३७ हजार २६१ रुपैयाँ भन्दा बढी कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उनीमाथि नेपाली नागरिकता ऐन, २०६३ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको छ।

क्रिप्टोकरेन्सी कारोबार पनि अनुसन्धानको घेरामा

प्रहरीले आर्यन गुप्तामाथि क्रिप्टोकरेन्सी कारोबार गरेको आशङ्कामा पनि अनुसन्धान अघि बढाएको छ।

विभिन्न बैंकबाट प्राप्त विवरणअनुसार उनको खातामा ४२ लाख ६७ हजार १९६ रुपैयाँ जम्मा भएको र त्यसको अधिकांश रकम तत्काल निकासा गरिएको देखिएको छ। अनुसन्धानका क्रममा सन् २०२४ मे १६ मा भएको एक डिजिटल कारोबार क्रिप्टोकरेन्सीसँग सम्बन्धित रहेको विवरण फेला परेको प्रहरीले जनाएको छ।

छोटो अवधिमा ठूलो रकम जम्मा–निकासा गरी आयस्रोत लुकाउने प्रयास भएको आशङ्कामा उनीमाथि मुलुकी अपराध संहिता, २०७४ तथा सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार अनुसन्धान भइरहेको छ।

पाँच करोडभन्दा बढीको शङ्कास्पद बैंक कारोबार

बारा सुवर्ण गाउँपालिका–६ स्थायी घर भई हाल वीरगञ्ज–१५ बस्दै आएका अरुणकुमार साहको बैंक कारोबार पनि प्रहरीको अनुसन्धानको दायरामा परेको छ।

प्रहरीका अनुसार विभिन्न बैंक खातामार्फत पाँच करोड ३३ लाख ९० हजार ५१९ रुपैयाँ बराबरको अस्वाभाविक कारोबार भएको देखिएको छ। उनले आफ्नै खातामा एक करोडभन्दा बढी नगद जम्मा गरेको तथा अधिकांश रकम डिजिटल माध्यमबाट अन्य व्यक्तिका खातामा स्थानान्तरण गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

यद्यपि प्रत्यक्ष कसूर पुष्टि नभइसके पनि आयस्रोतसँग मेल नखाने कारोबार देखिएकाले थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित विवरण सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ।

सीमावर्ती वित्तीय अपराध नियन्त्रणमा प्रहरीको विशेष अभियान

पर्सा प्रहरीले सीमावर्ती क्षेत्रमा हुने हुण्डी कारोबार, मनी लाउन्डरिङ, क्रिप्टोकरेन्सी कारोबार तथा दोहोरो वा नक्कली पहिचानमार्फत हुने वित्तीय अपराध नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।

प्रहरी स्रोतका अनुसार अनुसन्धानका क्रममा अवैध कारोबारका मुख्य योजनाकारहरूको खोजी भइरहेको छ। कतिपय व्यक्तिले महँगा सवारीसाधन अन्य व्यक्तिको नाममा दर्ता गरी प्रयोग गरेको तथा वास्तविक सम्पत्ति लुकाउने प्रवृत्तिमाथि समेत अनुसन्धान केन्द्रित गरिएको छ।

प्रहरीका अनुसार अनुसन्धान अझै जारी रहेकाले आगामी दिनमा थप व्यक्ति, बैंक खाता र वित्तीय कारोबार पनि अनुसन्धानको दायरामा आउने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्