वित्तीय साक्षरता प्रवद्र्धनका लागि पत्रकार अभिमुखीकरण

हेटौंडा ।  वित्तीय साक्षरता प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयले आयोजना गरेको एकदिने पत्रकार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मकवानपुरको हेटौंडामा आयोजना गरिएको थियो ।
    
कार्यक्रममा पर्सा, बारा, रौतहट, मकवानपुर तथा चितवन जिल्लाका सञ्चारकर्मीहरूको सहभागिता थियो । अभिमुखीकरणका क्रममा वित्तीय साक्षरतासम्बन्धी विविध विषयमा जानकारी प्रदान गर्नुका साथै पत्रकारहरूको भूमिकाबारे समेत छलफल गरिएको थियो ।
  
नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका प्रमुख सुशील पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक निर्देशक नरेश सर्राफसहित अन्य कर्मचारीहरूको सहभागिता थियो ।कार्यक्रममा सहभागी पत्रकारहरूलाई वित्तीय प्रणाली, बैंकिङ सेवा, डिजिटल भुक्तानी, बचत तथा लगानीका उपायहरूबारे जानकारी गराइएको थियो ।

कार्यक्रममार्फत आम नागरिकमा वित्तीय सचेतना फैलाउन सञ्चारकर्मीहरूले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा आयोजकले व्यक्त गरेको छ । कार्यक्रमको अन्त्यमा सहभागीहरूले यस्ता तालीमले आफ्नो पेशागत क्षमता अभिवृद्धि हुनुका साथै जनतालाई सही वित्तीय जानकारी प्रवाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्